
१४ कात्तिक, सिन्धुपाल्चोक । आगामी चुनावमा मतदाताहरुलाई आकर्षित गर्न केही नेताले आफूलाई ‘चीनको प्यारो’ देखाउने अभियान थालेका छन् । चिनियाँ सीमासँग जोडिएका प्रदेशका नेताहरुले यसरी आफूलाई चीनको निकट देखाउन थालेका हुन् ।
प्रशंग हो, तातोपानी नाकालाई समेटेर बनेको सिन्धुपाल्चोक १ अन्तरगत प्रदेश (क) को चुनावको । यहाँको प्रदेशसभामा एमाले-माओवादीे गठबन्धनका साझा उम्मेदवार अरुण नेपाल र कांग्रेस-राप्रपा प्रजातान्त्रिकका साझा उम्मेदवार विष्णु खत्रीवीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाल र खत्री दुवैले तातोपानी नाका सञ्चालन गर्ने चुनावी मुद्दा निकै जोडतोडका साथ अगाडि सारेका छन् ।
यो प्रदेशको लाइफलाइनका रुपमा रहेको तातोपानी नाका सञ्चालनका लागि बामपन्थी गठबन्धनले जित्नुपर्ने एमालेका युवा नेता नेपालको भनाइ छ । भावी मुख्यमन्त्रीका रुपमा समेत एमाले नेता नेपालले आफूलाई मतदातासमक्ष अगाडि सारेका छन् ।
तर, आफू लामो समयदेखि यो नाकामा क्रियाशील रहेको र चिनियाँहरुसँगको सम्बन्धका कारणले पनि आफूले जिते मात्रै नाका सञ्चालन हुने खत्रीको दाबी छ ।
आ-आफ्नै दाबी
विशेष गरी व्यापारिक क्षेत्र रहेको नेपालको यो प्रदेशमा एमाले नेता नेपालले व्यापारिक पृष्ठभूमिका उमेदवारसँग यो चुनावमा सामना गर्नुपर्नेछ ।
कांग्रेस र राप्रपा प्रजातान्त्रिकबाट साझा उम्मेदवार बनेका सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योग बाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य विष्णु खत्री अरुण नेपालका बलिया प्रतिस्पर्धी हुन् ।
वाम उम्मेदवार नेपाल भन्छन्- ‘मतदाताहरु नबुझ्ने छैनन् उनीहरुले व्यापारीभन्दा पनि राजनीतिक कार्यकर्ताहरुलाई नै रुचाउँछन् ।
तर, कांग्रेस उमेद्वार खत्री आफू व्यापारिक पृष्ठभूमिको मात्रै नभएर राजनीतिक कार्यकर्तासमेत भएको बताउँछन् । ‘म यो प्रदेशलाई आर्थिकरुपले सक्षम बनाउनका लागि उमेदवार भएको छु, यो प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने छु’ खत्रीले अनलाइनखबरसँग भने ।
तातोपानी नाकासम्वद्ध व्यापारी एवम बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा भन्छन्- ‘कांग्रेस उमेदवारले जस्तो रणनीति ल्याउँछन्, त्योभन्दा हामी माथि हुन्छौं ।’
‘भावी मुख्यमन्त्री’ को भाग्य परीक्षा !
लामो समय एमालेको केन्द्रीय राजनीतिमा बिताएका एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल भूगोलको राजनीतिमा पहिलोपटक संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक प्रवेश गरेका थिए । पहिलो संविधानसभामा पराजित भएका उनी अहिले प्रदेशसभामा झरेर चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता नेपाल सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धी थिए । उनीसँगै माओवादीका राजकुमार श्रेष्ठ, कांग्रेसका मोहनबहादुर बस्नेत र राप्रपाबाट पशुपतिसमशेर राणा प्रतिस्पिर्धी थिए । तर, नेपालले पहिलो संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा खुम्चनुपर्यो ।
नेपालले त्यसबेला १४ हजार मत पाएका थिए भने विजेता माओवादीका राजकुमार श्रेष्ठले २१ हजार र कांग्रेसका मोहन बस्नेतले ७ हजार मत पाएका थिए ।
पहिलो संविधानसभा निर्वाचनपछि जिल्लामा सक्रिय हुन थालेका नेपाल ०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाटै उम्मेदवार भए । तर, उनी कांग्रेसका मोहन बस्नेतसँग ३२ भोटको झिनो मतान्तरले पराजित भए ।
०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट नेपालले राजनीतिक यात्रा सुरु गरेका थिए । अखिल केन्द्रीय अध्यक्षदेखि नेकपा एमालेको विदेश विभाग सचिव समेत रहेका नेपाल पार्टीका आन्तरिक भेला, बैठकलगायतका कार्यक्रमहरुमा कार्यकर्तासँग साक्षात्कार भए पनि संसदीय राजनीतिमा नयाँ मानिन्छन् ।
केन्द्रीय राजनीतिमा राम्रो पहुँच भए पनि बाम गठबन्धनका कारण नेपाललाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा (क) मा उम्मेदवार बनाइयो । प्रदेशको उम्मेदवार बनेका उनले प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन् ।
स्थानीय चुनावको मत परिणाम हेर्ने हो भने नेपाललाई यो प्रदेशमा जित्न अनुकुलता नै देखिन्छ । किनभने एक नगरपालिका र तीन गाउँपालिकामध्ये एक नगरपालिका र दुई गाउँपालिकामा एमाले एक्लैले चुनाव जितेको छ भने एउटा गाउँपालिकामा माओवादीले चुनाव जितेको छ । यो मताधारमा चुनाव जितिनेमा नेपाल ढुक्क देखिन्छन् ।
तर, व्यापारिक पृष्ठभूमिका विष्णु खत्रीका कारण नेपालले सोचेकोजस्तो उनलाई चुनाव जित्न सहज भने छैन ।
तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा, कांग्रेसका पुराना नेता अमृत खड्का लगायतका कांग्रेेसका हस्तीहरु एमालेमा प्रवेश गरेका थिए । तर, एमालेमा आएका तरुण नेता दोर्जे केही दिन अघिमात्रै फेरि कांग्रेसमै फर्किएका छन् ।
२०७४ कार्तिक १४ गते १४:१८ मा प्रकाशित
No comments:
Post a Comment