• Breaking News

    Monday, November 20, 2017

    उम्मेदवारमाथिको आक्रमण निन्दनीय: अमेरिका

    उम्मेदवारमाथिको आक्रमण निन्दनीय: अमेरिका
    काठमाडौं: संयुक्त राज्य अमेरिकाले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत हिंसाद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कार्यको निन्दासमेत गरेको छ।

    'स्थानीय तहका तीनवटै चरणका निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएपछिको अवस्थामा अहिले उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ। हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ', विज्ञप्तिमा भनिएको छ।

    अमेरिकाले आसन्न निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरेको छ ।'हिंसा वा हानीको त्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिक हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको मुख्य सिद्धान्त हो', विज्ञप्तिमा भनिएको छ।

    नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्ति स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र अधिकारलाई सम्मान गर्न अमेरिकाले सबै पक्षसँग आग्रह गरेको छ।'निर्वाचन राजनीतिक बहसको समय भए पनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गरिन्छ। हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न आग्रह गर्न चाहन्छौँ', विज्ञप्तिमा भनिएको छ।

    अमेरिकाले शान्तिपूर्ण, समावेशी, व्यापक समर्थनप्राप्त तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सरोकारवाला सबैसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel