२३ कात्तिक,काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने पक्षलाई निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको उल्लेख गरे ।
निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एवम् व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री तथा मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु आयोगको अहिलेको चुनौती रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनलाई सफल तुल्याउन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताए।
सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध छ भने ।
“निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौँ,” उनले भने, “निर्वाचन हामी सबैको साझा लक्ष्य हो, निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौँ, एकाकार भएर काम गर्ने छौँ, निर्वाचनमा खटिएका राष्ट्रसेवकबाट भइरहेको कार्य सम्पादनको अनुगमन भइरहेको छ ।”
निर्वाचन आयुक्त सुधीरकुमार शाहले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल तुल्याउन सरकारका तर्फबाट हरदम सहयोग, सद्भाव र प्रतिबद्धता होस् भने ।
निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आगामी निर्वाचनलाई ध्यानमा राखेर सरकारले सवारीसाधन, टेलिफोन, विद्युत्, एम्बुलेन्स, हेलिकोप्टर नियमित र सुव्यवस्थित गर्न तथा आममतदाता, कर्मचारी र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ भने ।
आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले समग्र निर्वाचन प्रक्रिया र निर्वाचनका लागि भइरहेको तयारीका विविध पक्षबारे जानकारी दिएका थिए ।

No comments:
Post a Comment