• Breaking News

    Monday, November 6, 2017

    ओरियण्टल सहकारी समस्याग्रस्त घोषित, सर्वसाधारणको ७ अर्ब फिर्ता होला ?


    २० कात्तिक, काठमाडौं । सुधिर बस्नेत अध्यक्ष रहेको ओरियण्टल बचत तथा ऋण सहकारी संस्थालाई औपचारिक रुपमा समस्याग्रस्त घोषणा गरिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो घोषणा गरेको हो । सहकारी ऐन-२०७४ ले संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने अधिकार सहकारी मन्त्रालयलाई दिएको छ ।

    ऐन लागू भएसँगै पहिलोपटक कुनै सहकारी संस्थालाई औपचारिक रुपमा समस्याग्रस्त घोषणा गरिएको हो ।

    ‘अब हामी लिक्वडेटर नियुक्त गरेर सम्पत्ति विक्रीको प्रक्रिया अगाडी बढाउछौं र निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न सुरु गर्छौ,’ मन्त्रालयका सहसचिव रघुराम विष्टले भने ।समस्याग्रस्त संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी काम गर्न नेपाल सरकारले एक व्यवस्थापन समिति गठन गर्न सक्ने व्यवस्था ऐनले गरेको छ ।

    ओरियण्टल सहकारी समस्याग्रस्त बनेको कारण करिब १२ हजार सर्वसाधारणको ७ अर्ब रुपैयाँ बराबरको निक्षेप फसेको थियो । केही समयअघि मन्त्रालयले दिएको तथ्यांकअनुसार सहकरीले सर्वसाधारणको साँवा निक्षेप ४ अर्ब २० करोड, ब्याज २ अर्ब ४० करोड र हाउजिङमा गरिएको लगानी १ अर्ब गरेर करिब ७ अर्ब भुक्तानी दिनुपर्ने देखिएको थियो ।

    २०६९ भदौंदेखि ओरियण्टल सहकारी बन्द रहदै आएको थियो । गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन भएको समस्याग्रस्त सहकारी जाँचबुझ आयोग अध्ययनका क्रममा ओरियण्टल विरुद्ध १२ हजार ९ सय ६२ वटा उजुरी दर्ता भएका थिए । बिभिन्न सहकारीहरूमा परेकाे दाबी रकमको करिब ६० प्रतिशत रकम ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले भुक्तान गर्नुपर्ने रहेको अध्ययनमा देखिएको थियो ।

    बस्नेतले ओरियण्टलबाट १ अरब ३६ करोड रकम झिकेर हाउजिङमा समेत लगानी गरेका थिए । अहिले सहकारीका सञ्चालक बस्नेत कारागारमा छन् । बस्नेतले हाउजिङको जग्गा धितो राखेर १४ वटा बैंकबाट समेत १ अर्ब बढी कर्जा लिएका थिए ।

    बस्नेतलाई काठमाडौं अदालतले २०७२ मा २ वर्ष कैद र ५ करोड ९५ लाख र त्यसअघि मंसिरमा भक्तपुर जिल्ला अदालतले २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।

    २०७४ कार्तिक २० गते १४:०९ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel