
२० कात्तिक, काठमाडौं । दोस्रो संविधानसभा चुनावमा धनकुटाबाट उम्मेदवार नबन्ने निर्णय गर्दैगर्दा तत्कालीन राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले भनेका थिए, ‘मतदाताको घरघरमा पुग्न सकिएन भने उनीहरुमाथि अन्याय हुन्छ ।’
स्थानीय चुनावको मिति छोटो समयमा तय भएकाले उम्मेदवारहरुले मतदाता माझ पुग्न नभ्याइएको गुनासो गरेका थिए । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले पनि समय अभावका कारण आफ्ना मतदाताका घरघरमा पुग्न नसकिने बताएका छन् ।यतिबेला सूर्यबहादुर थापा जिवित छैनन् । तर, लामो चुनावी अनुभव सम्हालेका स्व. थापाले उठाएको प्रश्न भने अझै जिवितै छ । यदि उम्मेदवार मतदाता माझ पुग्न सकेन, उसका योजना र बाचा मतदाताले सुन्न पाएनन् भने के आधारमा भोट दिने ? दलको चुनावी घोषणापत्र, घोषणामा नै सीमित रहने गरेको छ ।
दलका नेताहरुले उम्मेदवारी दर्तापछि झण्डै एक महिना समय पाएका छन् । यो अवधिमा पनि घरदैलो गर्न नभ्याउने भएपछि उम्मेदवारहरुले आफ्नो साटो कार्यकर्ताहरुलाई भोट माग्न घरघरमा पुर्याउने बताएका छन् ।
‘मेरो चुनाव क्षेत्रमा ४४ वटा वडा छन्, एउटा वडा भनेको पहिलाको गाविस बराबर हो’ धनुषा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झा भन्छन्, ‘मतदानको दिन आउन २७ वटा दिन छ, यसपालि पनि सबै मतदाताको घरघरमा पुग्न नसकिने भयो ।’
माओवादी नेता झा ०४८ देखि लगातार चुनाव लड्दै आएका छन् । उनले तीनपटक जिते, दुई पटक चुनाव हारे । मतदाताको घरघरमा जानै पर्ने भए पनि समय अभावका कारण सम्भव नहुने उनको निष्कर्ष छ ।
त्यसैले झाले हरेक वडामा चुनावी सभा गर्ने योजना बनाएका छन् । प्रदेशसभाका उम्मेदवारले भने घरदैलो गर्ने र आफूले चाहिँ वडासभाहरुमा गएर भोट माग्ने कार्यक्रम बनाएका छन् उनले ।
रामचन्द्रले जस्तै सर्लाही १ मा कांग्रेसबाट उम्मेदवार बनेका शम्भुलाल श्रेष्ठ पनि हरेक मतदाताको घरमा पुग्न गाह्रो रहेको सुनाउँछन् । उनको क्षेत्रमा ४९ वटा वडा छन् । सुरुका ५/७ दिन हरेक वडामा पुगेर पार्टी कार्यकर्ता तथा समर्थकसँग भेट्ने र नवप्रवेशीलाई आकर्षित गर्ने उनको योजना छ ।
श्रेष्ठ भन्छन्, ‘सुगम जिल्ला भएकाले पहाडमा जस्तो गाह्रो त छैन । तर, प्रत्येक मतदाताको घरघरमा पुगेर भोट माग्न सम्भव देखिएको छैन । सकेसम्म घरदैलो गर्ने प्रयास गर्छु ।’
पर्सा ४ मा राजपा फोरम गठबन्धनबाट उम्मेदवार बनेका लक्ष्मणलाल कर्ण पनि अहिले भेटघाटमा व्यस्त छन् । भन्छन्, ‘वडासम्म पुग्न सकिएला तर, घरदैलो गर्न भ्याउने अवस्था छैन ।’
२०७४ कार्तिक २० गते १५:१० मा प्रकाशित
No comments:
Post a Comment