
२१ कात्तिक, काठमाडौं । एमाले र माओवादीले वाम गठबन्धन आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले कांग्रेस विक्षिप्त भएको टिप्पणी गरेका छन् ।
आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्रप्रतिको प्रतिवद्धतामा अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् ।कम्युनिष्ट अधिनायकवादको हौवा पिटाइएको भन्दै दुबै दलले भनेका छन्, ‘यस्ता भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायक बाहेक अरु केही होइन ।’
विगतमा पनि एमाले र माओवादीले मिलेर सरकार चलाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यसबेला त कोकोहोलो मच्चिएको थिएन । अनि अहिले एमाले र माओवादी मिल्दा पैताला बजाउने, कपाल लुछ्ने किन ?’
उनले अघि भने, ‘लोकतन्त्र समाप्त हुन लाग्यो रे ? झगडा गर्यो भने लोकतन्त्र बलियो हुन्छ ?’
एमाले अध्यक्ष ओलीले विचार मिल्ने पार्टीहरु एकतावद्ध हुनासाथ भयपूर्ण रुपमा चित्रण नगर्न आग्रह गरे । आफूहरुको गठबन्धन लोकतन्त्र, लोकतान्त्रिक प्रक्रिया, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन प्रति प्रतिवद्ध रहेको उनले बताए ।
२०७४ कार्तिक २१ गते १४:१९ मा प्रकाशित
No comments:
Post a Comment