• Breaking News

    Wednesday, November 8, 2017

    सार्वजनिक सवारीका चालक र सह-चालकका लागि ‘युनिफर्म’ तोक्ने तयारी


    २३ कात्तिक, काठमाडौं । उपत्यकामा गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकलाई विशेष पोशाक (युनिर्फम)को व्यवस्था गरिने भएको छ । यातायात मजदुरको पहिचान झल्किने गरी विशेष पोशाक तोक्ने तयारी गरिएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको छ ।

    यो प्रयासलाई सफल बनाउन महाशाखा प्रमुख सर्वेन्द्र खनाल आफैं व्यवसायीसँग चरणबद्ध छलफलहरुमा सक्रिय छन् ।पहिलो चरणमा भएको छलफलमा नै उपत्याकका झण्डै ५० वटा यातायात समितिले युनिर्फम तोक्ने विषयमा सहमति जनाएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।

    ‘अब सोमबार पुनः वृहत छलफल गर्छौं । सो छलफलमा कस्तो किसिमका ड्रेस, कसरी लागू गर्ने भन्नेबारे निर्णय हुन सक्छ,’ रञ्जितकारले भने,’व्यवसायीहरुले नै आफ्नै खर्चमा यो व्यवस्था लागू गर्ने भएकाले उहाँहरुकै सहमतिमा निर्णय हुन्छ ।’

    पछिल्लो समयमा सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालबाटै दुब्र्यवहारमा पर्ने क्रम बढेको छ । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिर्फम तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    ‘पोशाक लगाएपछि चालक/सहचालककको व्यवहारमा सुधार आउँछ । यसले अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो सन्देश जान्छ,’ प्रवक्ता रञ्जितकारले भने,’भीडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । यसले उनीहरुलाई मर्यादमा बस्ने बोध पनि गराउँछ ।’

    उपत्याकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका छन् । ट्याक्सीका हकमा पनि युनिर्फमको व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ ।

    कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।
    ‘यो भएपछि सार्वजनिक यातायातको मजदुरको व्यवहारमा पनि परिवर्तन आउँछ । सार्वजनिक सवारीको गरीमा पनि बढ्छ,’ रञ्जितकारले भने,’ हामी यो व्यवस्था तत्काल लागू गर्न आतुर छौं ।’ यसले दुर्घटनामा पनि कमी ल्याउने अपेक्षा ट्राफिक प्रहरीको छ ।

    अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनीले चालकका लागि पोशाक तोकेका छन् ।

    अन्तर्राष्ट्रिय रुपमा पनि सार्वजनिक सवारी चलाउनेले आफ्नो पहिचानका लागि विशेष पोशाक लगाउने चलन छ ।
    उपत्याकका निजी विद्यालयका बसका चालक तथा सहचालकलाई पनि छुट्टै पोशाक व्यवस्था गर्न महाशाखाले प्याबसन तथा एन प्याबसनलाई आग्रह गरेको छ । दुई संस्थाले मंसिरको सुरुवातबाट विशेष पोशाक व्यवस्था गर्न सहमति जनाएका छन् ।

    २०७४ कार्तिक २३ गते ११:३१ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel