
२१ कात्तिक, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने व्यवस्था सहितको घोषणापत्र आज सार्वजनिक गरेको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले घोषणापत्र सार्वजनिक गरेका हुन ।
संवैधानिक राजसंस्था र सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनस्थापनाको एजेण्डालाई घोषणापत्रमा समेटिएको छ । सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारको रुपमा राप्रपाले उल्लेख गरेको छ । मुलुकलाई आर्थिक सम्बृद्धिमा लैजाने, १५ वर्षभित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने पनि राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।
घोषणा पत्रमा वीर–अस्पताल सरहका अस्पताल नयाँ संरचनाअनुसार सातै प्रदेशमा स्थापना गरिने, आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना कार्यान्वयन गरी सदाका लागि विद्युतभार कटौतीको अन्त्य गरिने उल्लेख गरिएको छ । साथै राप्रपाले उच्चस्तरीय छानबिन न्यायिक आयोग गठन गरी अवैध रुपमा कमाएका सम्पत्ति जफत गर्ने र विभिन्न व्यक्ति एंव समूहद्वारा विदेशमा लुकाइएका कालोधन फिर्ता ल्याई राष्ट्र निर्माण उपयोग गरिने उल्लेख छ ।
नेपाल बन्दजस्ता कार्यक्रम नगर्ने, सुरुङमार्ग, चक्रपथ, द्रुतमार्ग,विद्युतीय रेलमार्ग तथा जलमार्गजस्ता यातायातको सञ्जाल निर्माण गर्ने पनि घोषणापत्रमा उल्लेख छ । नेपाली काँग्रेस लोकतान्त्रिक गठबन्धनसंग सहकार्य गरेको सो पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि पाँच तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि २० जनाले उम्मेदवारी दिएको छ ।
No comments:
Post a Comment