• Breaking News

    Monday, October 30, 2017

    बाघचाल खेलेको चौतारोमा उभिएर बाबुरामले भने- म सामान्य गोठालो हुँ



    १३ कात्तिक, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार गोरखाको कांग्रेस पार्टी कार्यालयमा पुगे । त्यहाँ पुगेर उनले कांग्रेस कार्यकर्तालाई आधा घण्टा प्रशिक्षण दिए । प्रशिक्षणको शुरुमै जय नेपाल भन्दै उनले कार्यकर्तासँग भोट माग्न भ्याए ।

    साँझको समयमा आफ्नै घरमा बाबुरामलाई पाएपछि स्थानीयले खुशी भएर फूलमालाले स्वागत गरे । आँगनमा पुग्ने बित्तिकै भट्टराई दुई हात जोडेर भन्न भ्याइहाल्थे- ‘नमस्कार ! सञ्चै हुनुहुन्छ ?’जय नेपालको अभिवादनसँगै डा. भट्टराईको घरदैलो अभियान शुरु भयो । गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस र नयाँ शक्ति पार्टीको साझा उमेदवार बनेका भट्टराई प्रशिक्षण कार्यक्रम सकेलगतै साँझ ५ बजे गोरखा नगरपालिका-८ रानीवनका मतदाताहरुको घरदैलोमा पुगे ।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई आफ्नै घरमा पाउँदा स्थानीयहरु पनि खुशी देखिन्थ्ये ।

    घरघरमा पुगेर उनी भन्दै थिए, ‘अब देशमा आर्थिक समृद्धिको खाँचो छ, र त्यो नयाँ शक्ति र कांग्रेसबाट मात्र सम्भव हुन्छ, त्यसैले यसपटक मलाई भोट दिएर जिताउनुहोस् ।’

    चुनाव चिन्हमा अलमल नहुन आग्रह गर्दै उनले आफ्नो चुनाव चिन्ह आँखा रहेको प्रष्ट पारे । रातको १० बजेसम्म घरदैलो गरेका भट्टराई शनिवार सोही ठाउँमा कार्यकर्ताकै घरमा बास बसे ।

    भोलिपल्ट (आइतवार) बिहानै उनी गोरखाको लक्ष्मीबजार हुँदै आफ्नै गृहनगर पालुङटार पुगे । उनीसँगै आँखा चिन्ह अंकित झण्डा बोकेर केही कार्यकर्ताहरु पनि अघिपछि थिए । त्यति मात्र होइन, उनकि छोरी मानुसी यमी भट्टराईले पनि बुबालाई साथ दिएकी थिइन् ।

    सातदोवाटो र चोरकाटेमा घरदैलो अभियान गरेसँगै भट्टराईले आफ्नो जन्मथलो खोप्लाङको जोर्ती चौतारामा भेला भएर बसेका छिमेकी, आफन्त र मतदातालाई भेटे ।

    बाल्यकालमा त्यही चौतारामा गोठालो आउँदा बाघचाल खेलेको सम्झना गर्दै बाबुराम भावुक पनि भए । उनी भन्दै थिए, ‘बाल्यकालमा गोठालो आउने र बाघचाल खेल्ने ऐतिहासिक जोर्ती चौतारामा ५० बर्षपछि हजुरहरुसँग भेटघाट गर्न पाउँदा निकै भावुक र हर्षित भएको छु ।’

    प्रधानमन्त्री र अर्थमन्त्री हुँदा आफूले गरेको कामको प्रंशसा गर्न उनले भ्याइहाले । उनी भन्दै थिए, ‘म सरकारमा हुँदा बुढीगण्डकी परियोजना, मध्यपहाडी लोकमार्ग (हुलाकी मार्ग) जस्ता पूर्वाधार निर्माणको काम शुरु गरें, यस पटक जिताउनु भयो भने त्यो काम सम्पन्न गर्छु ।’

    भेटघाटमा सम्वोधन गर्दै गर्दा कार्यक्रममा सहभागी हुन आउने बृद्ध होस् वा युवा, जो कोही नयाँ व्यक्तिहरुलाई नमस्कार गरेर स्वागत गर्न पनि उनले भ्याइरहेका थिए ।

    ‘भूकम्पले भत्किएको घरमा अहिले जग मात्र बसेको छ,’ बामगठवन्धनलाई व्यग्य गर्दै उनले भने, ‘माओवादी र एमालेको गठवन्धनलाई जिताउनुभयो भने तपाईको घर कहिल्यै पुननिर्माण हुँदैन, केही गर्दैनन् उनीहरुले ।’

    आफूले जिते पुननिर्माणको कामलाई पनि तिव्रता दिने उनले आश्वासन दिए ।

    वामगठवन्धनबाट आफ्ना प्रतिद्वन्द्वीका रुपमा चुनाव लड्ने एमाओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई इङ्गित गर्दै उनले भने, ‘हामी हुर्कंदै गरेको बिरुवालाई उखलेर फाल्नका लागि प्रतिद्वन्द्वीहरु काठमाडौंको बन्द कोठामा बसेर करोडौको चलखेल गरिरहेका छन्, यसमा सचेत रहनुहोला ।’

    स्थानीयहरु भट्टराईको कुरामा सहमत भएजसरी वीचवीचमा ताली पनि बजाउँदै थिए । स्थानीयको मन जित्नका लागि उनी आफू ठूलो मान्छे नभई सामान्य गोठालो रहेको बताउँदै थिए ।

    ‘म सामान्य गोठालो हुँ, अन्त घरवार छैन, यहीँ मर्ने हो, दरौदीमै जल्ने हो,’ भन्दै उनी भावुक पनि बन्न भ्याइहाले ।

    बाबुरामले प्रदेशका उमेदवारलाई पनि साथै लिएर हिँडेका छन् । चुनावी घोषणापत्रसहित घरदैलोमा पुगेका भट्टराईले मतदाताहरुलाई घोषणापत्र पनि बढ्न भ्याएका छन्, साथमा हाते पर्चा पनि छ ।

    आइतवार चोरकाटेमा बास बसेका उनी सोमवार पनि बिहानैदेखि घरदैलो अभियानमा लागेका छन् ।

    कतै घरदैलो त कतै कोणसभा गर्न उनी व्यस्त छन् । मतदातासँगको भेटमा भट्टराईले आफ्ना लागि मात्रै नभई प्रदेश उमेदवारसँगै नेपाली कांग्रेसका लागि पनि भोट माग्ने गरेका छन् ।

    राष्ट्रिय एजेण्डा पाँच ‘स’ (सुशाशान, सदाचार, समृद्धि, स्वाधीनता, समाजवाद) हुन् । ‘सबैका लागी समृद्धि’ भन्ने मुल नाराका साथ चुनावी मैदानमा होमिएकाले गोरखा क्षेत्र नम्वर २ को मुख्य एजेण्डा पनि बिकास र समृद्धि नै हो ।

    हामीले बाबुरामलाई केही प्रश्नहरु गर्‍यौं-

    सुरुको प्रश्नः गोरखा क्षेत्र नम्वर २ मा तपाईले जित्ने आधार के छ ?

    मैले संबिधान निर्माणको काम गरें । सरकारमा हुदाँ बुढिगण्डकी परियोजना, मध्य पहाडी लोकमार्ग जस्ता विकासको काम सुरुवात गरें । म यहाँको स्थानीय भएको नाताले ०४५ साल देखि गोरखामा बिकास निर्माणको काममा अग्रसर हुँदै आएकाले यसले गर्न सक्छ भन्ने बिश्वास छ ।

    बाबुरामले जे भन्छ, त्यो गर्छ, यसले ढाँट्दैन भन्ने स्थानीयमा छ । यो नै मेरो जितको आधार हो ।

    भेट भएका मतदाता सबैले भोट दिन्छु भनेका छन् त ?

    भन्ने र नभन्ने कुरा होइन । मान्छे सचेत छन्, ठीक बेठीक के हो छुट्याउन सक्छन् । अघिल्ला समयमा बाबुरामले गरेको कामको मुल्याङकन पक्कै मतदाताले गर्नेछन् । अहिलेसम्म इमान्दार भएर काम गर्‍यो, अबका दिनमा पनि इमान्दार भएर काम गर्छ भन्ने बिश्वास उहाँहरुमा छ । यही आधारमा भोट गर्नुहुन्छ भन्ने अपेक्षा छ ।

    गोरखा क्षेत्र नम्वर २ नै किन ?

    आफ्नो जन्मथलो र कर्मथलो दुवै भएकाले गोरखा क्षेत्र नम्वर २ बाटै चुनाव लड्न खोजेको हुँ ।

    कांग्रेससँग मिल्यो भनेर कार्यकर्ता रिसाएका छैनन् ?

    नयाँ शक्ति पार्टी वाम लोकतान्त्रिक शक्ति भएकाले काग्रेससँग तालमेल गरेका हौं । माओवादीको अस्तित्व सकियो, अब काग्रेस र नयाँ शक्तिले मात्र देशको आर्थिक समृद्धि र बिकास सम्भव छ । यो गठवन्धनको नयाँ प्रयोग देशभर उदाहरण पनि बन्न सक्छ ।

    २०७४ कार्तिक १३ गते १४:१४ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel