• Breaking News

    Tuesday, October 31, 2017

    बालकृष्ण ढुंगेलः डेराबाट निस्किनासाथ ‘दाह्रीवाल’को फन्दामा


    १४ कात्तिक, काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार दिउँसो साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किए । सातदोबाटो चोकबाट केही भित्री गल्लीमा उनको डेरा थियो ।

    ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए, ४/५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए ।

    प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्‍यायो । ढुंगेलका आफन्तले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो ।‘तपाई हाम्रो अफिसमा जानुपर्‍यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन ।

    सातदोबाटोमा भूमिगत बसाइ

    ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ सुरक्षाको कारण देखाउँदै कपनमा नबसी सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । उनको डेरामा भाइ बहिनीसहित ३/४ जना बस्दै आएका थिए ।

    ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।

    माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

    पारिवारिक स्रोतका अनुसार पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ । मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए ।

    ढुंगेल पक्राउ परेको घटनाका प्रत्यक्षदर्शी उनका नातेदारले भने- ‘किड्नी र ब्लड प्रेसरको औषधि खाइरहनुभएको थियो, औषधि पुर्‍याइदिन फोन गर्दा उहाँका दुबै फोन स्वीच्ड अफ भनेकाले सम्पर्क गर्न पाइएको छैन ।

    ढुंगेल द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशका आधारमा पक्राउ परेका हुन् । उनीमाथि ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्बोच्च अदालतबाट सर्वस्वसहित जन्मदकैदको सजायँ तोकिएको थियो । सर्वोच्चले सजायँ तोके पनि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।

    ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् ।

    उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।

    माओवादी नेताहरुले भने द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्ने भन्दै ढुंगेलको बचाऊ गर्दै आइरहेको छ ।

    २०७४ कार्तिक १४ गते १२:४९ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel