• Breaking News

    Thursday, August 17, 2017

    नेपाललाई इयू र यूएनडीपीको १९ करोड चुनावी सहायता


    ३२ साउन काठमाडौं । यूरोपियन यूनियन (इयू) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपाललाई चुनावी सहयोगका रुपमा अतिरिक्त १६ लाख यूरो अर्थात् करिब १९ करोड २८ लाख रुपैयाँ अनुदान दिने भएका छन् ।

    आगामी चुनावमा नेपालको निर्वाचन आयोगसँग गहिरो समन्वय गर्ने रणनीतिका साथ यो सहयोग दिइएको इयूले बताएको छ ।

    नेपालका लागि इयूका राजदुत रेन्सजे टिरिन्क र नेपालस्थित संयुक्त राष्ट्रसंघका कन्ट्री डाइरेक्टर रिनाउद मेयरले अनुदानसम्वन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरे । यो अनुदानलाई यूएनडीपीको निर्वाचन सहायता परियोजना -इएसपी) मार्फत निर्वाचन आयोगलाई आवश्यक निर्वाचनजन्य सहायता उपलब्ध गराउन प्रयोग गरिने छ ।

    यूरोपेली यूनियनले यो परियोनाका लागि २०१२ मा ८४ लाख यूरो (एक अर्ब रुपैयाँ) को आर्थिक सहायता उपलब्ध गराइसकेको छ । अहिले दिन लागिएको अनुदान इएसपीमार्फत नेपालको निर्वाचन आयोगलाई सहयोग गर्न बनाइएको २ करोड ७८ लाख अमेरिकी डलरको बास्केट फन्डको हिस्सा भएको बताइएको छ । यस फन्डका अन्य साझेदारहरुमा डेनमार्क, नर्वे, यूके एड र यूएनडीपी रहेका छन् ।

    ‘आगामी महिनाहरुमा नेपालले दुईवटा निर्वाचन गर्न बाँकी नै रहेको अवस्थामा यस्तो सहयोग गर्न पाउँदा यूरोपियन यूनियन खुशी छ,’ राजदुत टिरिन्कले भने, ‘नेपालको प्रजाताीन्त्रक प्रक्रियामा प्राविधिक सहयोगलाई जारी राख्न यूरोपेली यूनियन तयार एवं प्रतिवद्ध छ ।’

    यूएनडीपीका कन्ट्री डाइरेक्टर मेयरले भने, ‘नेपाललाई निर्वाचन सहायता उपलब्ध गराउने काममा इयूसँग हातेमालो गर्न पाउँदा यूएनडीपी उत्साहित छ ।’

    निर्वाचन आयोगका महेन्द्र भट्टराईले इएसपीमार्फत उपलब्ध गराइएको सहायताले आयोगको क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel