• Breaking News

    Friday, August 18, 2017

    जापानको नदीमा वेपत्ता भएका नुवाकोटका लोहनी अझै भेटिएनन्


    १८ अगष्ट, टोकियो । घटना अगष्ट १२ तारिख शनिबारको हो । जापानमा यत्तिबेला गर्मी बिदा चलिरहेको छ । यो गर्मी छल्न प्रायः मानिसहरु नजिकका नदी वा समुद्रमा गइ पौडीको मज्जा लिने गर्छन् ।

    त्यो दिन दिउँसो ३ बजेतिर लिखु गाउँपालिका, बर्राफेदी नुवाकोटका दिवाकर लोहनी र उनका पाँचसाथीहरु तोचिगी नजिकैको नदीमा पौडी खेल्न गएका थिए ।

    तर पौडीको मज्जा लिँदै गरेका लोहनी एकाएक वेपत्ता भए । घटना भएको आज ६ दिन भयो । तर, वेपत्ता भनिएका लोहनीको अझै अत्तोपत्तो छैन् ।

    सन् २०१२ मा जापान आएका २६ वर्षीय लोहनी सेन्मोन गाक्कोउका विद्यार्थी रहेको बुझिएको छ ।

    घटनालगत्तै तोचिगीस्थित प्रहरी सोही दिन उक्त घटनास्थलमा पुगी खोजी कार्य गर्दा पनि फेला नपरेपछि दुई दिनसम्म घटनास्थलमा प्रहरीको बिशेष फोर्स खटाई हेलिकप्टरबाट खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ ।
    प्रहरीले नदी बग्ने आसपासका जिल्ला चिबा र ओयामास्थित प्रहरीलाई समेत घटनाबारे सूचना दिइसकेको बताएको छ ।

    प्रहरीले आफूहरुले निरन्तर खोजी गर्दा पनि केहि आधार फेला नपर्नुले घटना रहस्यमय हुन सक्ने आशंका गरेको छ । प्रहरीले खोजी कार्यका लागि आफूमातहतका सम्पूर्ण शक्ति प्रयोग गरेको बताएको छ ।

    एनआरएनए जापानका प्रतिनिधिद्वारा घटनास्थलको निरीक्षण

    गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष देवीलाल भण्डारीसहितको एक टोलीले बिहीबार नुवाकोटका लोहनी वेपत्ता भएको घटनास्थलको निरीक्षण गरेको छ ।

    एनआरएनए जापानको पहलमा गएको उक्त टालीले घटनास्थल पुगेर प्रत्यक्षदर्शी र प्रहरी प्रशासनमार्फत घटनाबारे जानकारी लिएको छ । भण्डारीको नेतृत्वको टोलीले नदी आसपासमा खोजी कार्य गरेपनि लोहनीको बारे केही तथ्य फेला पार्न सकेन् ।

    भण्डारीसहितको टोलीमा तोचिगी कमिटीका संयोजक विकास बस्नेत, नुवाकोट समाजका जिवन के.सी, कास्की पोखरा समाजका शिवप्रसाद पौडेल, समाजसेवी राम थापा लगायत रहेका थिए ।

    हामी निरन्तर प्रहरीसँगको सम्पर्कमा छौंः राजदूतावास

    जापानस्थित नेपाली राजदूतावासले पनि यो घटनालाई गम्भीर रुपमा हेरेको बताएको छ । नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका लोहनीको बारेमा थप जानकारी लिन आफूहरु निरन्तर प्रहरीको सम्पर्कमा रहेको दूतावासले जनाएको छ ।

    प्रहरीले वेपत्ता भनिएका लोहनीको खोजीसँगै घटनाबारे अनुसन्धान पनि गरिरहेको दूतावासले बताएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel