
भारत , भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सूर्याेदय नगरपालिका–१० इलामका २७ वर्षीय उदयहाङ फागोको जीवन रक्षाका लागि मानवअधिकारवादी संस्था र झापा प्रशासनले चासो देखाएका छन् ।
गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग पु¥याएको आरोपमा भारतको सिलिगुढीमा पक्राउ परेका फागोलाई छुटाउन मानवअधिकारकर्मी र झापास्थित प्रशासनले पहल थालेको हो ।बिनाकारण नेपाली युवक उदयहाङ फागोलाई पक्राउ गरी दार्जीलिङ प्रहरीले हिरासतमा राखेको भन्दै राष्ट्रिय मानवअधिकार परिषद्, नेपाल प्रहरीका प्रतिनिधि र फागोका परिवार तथा आफन्त सिलिगुढी पुगेका छन् ।
उनीहरुले सिलिगुढीस्थित अदालतका कानुनी सल्लाहकार, न्यायाधिस, प्रहरी कार्यालयका प्रमुख लगायत सम्बन्धित निकायका प्रमुखसँग भेट गरी फागो निर्दोष रहेकाले रिहाई गरिदिन आग्रह गरेका छन् । आगामी शनिबार फागोको अन्तिम सुनुवाई भएकाले आवश्यक कागजात र प्रमाणहरु जुटाई पेश गरिएको फागोको परिवारले जनाएको छ ।
राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले भारतीय सरोकारवालाहरुसँग सकारात्मक कुराकानी भएकोले अन्तिम सुनुवाईमा फागो रिहाई हुने सम्भावना रहेको बताउनुभयो ।गत साउन १४ गते दार्जीलिङको सुकुनामा भएको खुकुरी जुलुसमा गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई सघाएको आरोपमा भारतीय प्रहरीले साउन २३ उदयहाङलाई सिलीगुढीबाट पक्राउ गरेको थियो ।
सो घटनाका बखत उदय नेपालमै रहेको र आमाको उपचारका लागि सिलीगुढी गएका बेला भारतीय प्रहरीले उदयहाङलाई गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै पक्राउ गरेको उदयहाङकी दिदी साधनाले बताउनुभयो ।
यता उदयहाङ बचाऊ अभियानका अभियन्ता जनकराज तिमिल्सिनाले पनि नेपाल सरकार परराष्ट्र मन्त्रालय, काठमाडौंस्थित भारतीय दूतयवास र कोलकोत्तास्थित नेपाली महावाणिज्य दूतावास मार्फत भइरहेको पहल सकारात्मक रहेको जानकारी न्यूज २४ लाई दिनुभयो । न्युज२४नेपाल ।
No comments:
Post a Comment