• Breaking News

    Saturday, July 1, 2017

    ओलीको माओवादीमाथि हमलाः रुकुम–रोल्पामा बहुदल पनि आएको छैन


    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आधार इलाका मानिने रुकुम रोल्पामा अझैं पनि बहुदल नआएको बताएका छन् ।

    उनले रुकुम रोल्पामा लोकतन्त्र तथा गणतन्त्र आउनु परको कुरा भएको भन्दै बहुदल समेत नआएको दाबी गरेका हुन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने , ‘रुकुम रोल्पामा गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन । रुकुम रोल्पा अझैं पनि आतंकको छाँयामा बाँचेको छ।’

    उनले रुकुम र रोल्पामा आएको मतपरिणामलाई संकेत गर्दै बहुदल पनि नआएको स्थानमा पनि एमालेले जित्नु चानचुने कुरा नभएको बताए । रोल्पाको एक स्थानीय तहमा एमालले जित्दा निर्वाचनमा रुकुमको सबै स्थानीय तहमा र रोल्पाका अधिकांश स्थानीय तहमा माओवादीले जित हासिल गरेको छ ।

    ओलीले एमालेको देशव्यापी जितलाई कसैले रोक्न नसक्ने भन्दै कसैले मतगणनामा बखेडा झिके त्यो स्वीकार्य नहुने बताए । ‘एउटा वडा एमालेले जितेको छैन’, सिडिओ सारौं एसएसपी सारौं भन्छन् । गृहजिल्ला झापाको दमकको मतपरिणाम विवादलाई संकेत गर्दै ओलीले भने, ‘ फेरि उनीहरु नै एउटा वडा एमालेले नजित्दैमा ओली चिन्तामा डुब्यो भनेर पूरै हल्लाखल्ला गर्छन् । ’

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कृतिम सरकार’ को संज्ञा दिँदै ओलीले सरकारले तराई पहाड छुट्याउन असोज २ सम्मलाई निर्वाचन सारेको आरोप लगाए । उनले देउवा सरकार ब्याक फोर्सको आडमा चलेको समेत दाबी गरे । उनले कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको भन्दै ठूला कुरा गरेपनि असली लोकतन्त्रवादी एमाले भएको समेत दाबी गरे ।

    कार्यक्रममा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा विजयी जनप्रतिनिधिलाई ओलीले सम्मान गरेका थिए भने उनीहरुलाई राष्ट्रियता, स्वतन्त्रता, सार्वभौभिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा हुने गरी जनताको काममा लाग्न निर्देशन दिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel