
बाग्लुङ – जिल्लाको पश्चिम भेग छोरेगाउँका एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । साविकको खुँगा—१ छोरेगाउँ हालको ढोरपाटन नगरपालिका—४ का ओमबहादुर खत्रीले पशुपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
५६ वर्षीय खत्रीले पशुपालनसंगै तरकारी खेती समेत गर्दै आएका छन् । खत्रीले २०६७ सालमा अन्य दुई जना साथीसंग मिलेर ढोरपाटन—१ छरछरेमा जग्गा लिजमा लिएर गाईपालन शुरु गरेका थिए । युवा स्वरोजगार कोषबाट तीन लाख रुपैयाँ ऋण लिएर ११ वटा उन्नत जातका गाई किनेर पाल्न शुरु गरे पनि भाडामा लिएको जग्गामा प्रसस्त घाँस नहुँदा घाटामा गएपछि व्यवसाय छोड्नु परेको थियो।
पहिलो गासमा ढुङ्गा लागे पनि उनको पशुपालन गर्ने सोचमा कमी आएन । पहिलो व्यवसायबाट घाटा सहेका खत्रीले २०६८ मा नेष्डो नेपाल नामक गैरसरकारी संस्थाबाट ९० हजार कर्जा लिएर दुई वटा उन्नत जातका गाई पाल्न शुरु गरे । दुई वटा गाईबाट शुरु भएको उनको पशुपालन व्यवसाय अहिले ११ वटा गाईमा पुगेको छ । गाईपालन फस्टाउँदै गएपछि अहिले उनको दैनिकी समेत फेरिएको छ । तीन वटा गाईले दैनिक ३० लिटर दूध दिन्छन् । अन्य ब्याउनेवाला छन् । खत्रीले हरेक दिन दुई घण्टा पैदल हिँडेर बुर्तिबाङ बजारमा दूध बिक्री गर्न आउँछन् । दूध विक्रीबाटै मासिक ४५ देखि ६० हजारसम्म आम्दानी गर्ने गरेको खत्रीले बताए । ‘अहिले दैनिक ३० लिटर दूध बेचिरहेको छु,’खत्रीले भने,‘मासिक रुपमा ४५ देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ यहाँ दूध प्रतिलिटर ७० देखि ८० रुपैयाँमा बिक्री हुन्छ ।
खत्री हरेक दिन बिहान गाई गोठको सम्पूर्ण काम सकेर ५ बजे गाग्रीमा दूध बोकेर बुर्तिबाङमा झर्छन् । वैदेशिक रोजगारीको सिलसिलामा १४ वर्ष मलेसिया, कतार र साउदीमा बिताएका उनले विदेशको दुःखले आफ्नै ठाउँमा केही गरौं भन्ने प्रेरणा मिलेको बताए । ‘मैले १४ वर्षसम्म आफ्नो उर्जाशिल समय विदेशी भूमिमा बिताएँ,’ खत्रीले भने,‘तर त्यहाँ दैनिक १७–१८ घण्टासम्म काम गर्दा पनि घर खर्च चलाउन धौ—धौ भएपछि स्वेदशमै फर्केर व्यवसाय गर्ने योजना बनाएँ ।’ उनले दूध बेचैर डेढ लाखको लगानीमा कुटानी पिसानी मिल समेत सञ्चालन गरेका छन् । त्यसबाट पनि राम्रै आम्दानी हुने गरेको छ । पशुपालन गर्दा खत्रीले थुप्रै समस्या समेत झेलेका छन् । नजिकमा प्राविधिक नहुँदा समस्या झेल्नु परकोले अहिले उनले आफ्नै कान्छो छोरालाई भेटेनरी पढ्न पठाएका छन् ।
‘व्यवसाय सञ्चालन गर्दा निकै कठिन समस्याहरु झेलियो,’ उनले भने,‘पशु सम्बन्धी प्राविधिक ज्ञान नहुँदा धेरै गाह्रो भएको थियो । त्यसैले छोरालाई भेटेनरी पढ्न पठाएको छु ।’ खत्रीको कामलाई उनकी पत्नी खिमकुमारीले सघाउँदै आएकी छिन् । खत्रीले आफ्नो ६ रोपनी जग्गामा अन्नबाली खेती गर्न छाडेर घाँसको खेती गर्न थालेका छन् । गाईपालन संगसंगै फुर्सदको समय निकालेर उनले तरकारी खेती समेत गर्दै आएका छन । आलु, बन्दा, प्याज, लसुन, सिमी लगायतका तरकारी लगाउँदै आएको र प्याज, लसुनको बेर्ना (विरुवा) उत्पादन गरी बिक्री गर्दै आएको उनले बताए । ‘फुर्सद हुँदा तरकारी पनि खेती गर्दै आएको छु, घरमा खाएर बचेको तरकारी बिक्री गरेर वार्षिक ६०–७० हजार कमाई हुन्छ,’ खत्रीले भने ।
व्यवसायबाट आफू सन्तुष्ट रहेको उनले सुनाए । ‘म त यही व्यवसायबाट सन्तुष्ट छु, यसैलाई आधुनिक र व्यवस्थित गर्ने योजनामा छु,’ उनले थपे । दुई छोरा, एक बुहारी र खत्री दम्पत्ती गरी उनीहरुको परिवारमा पाँच जना छन् । उनको जेठो छोरा वैदेशिक रोजगारीमा छन् । ‘छोरालाई यही बसेर व्यवसायमा सघाउन भने तर मानेन,’ उनले भने,‘विदेशमा ठक्कर खाएपछि यही व्यवसाय गर्नेगरी फर्किन्छ भन्ने विश्वास छ ।’ लाखौं खर्चेर मासिक २०–२५ हजार कमाउन विदेश जानुभन्दा स्वदेशमै बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिने खत्रीको सुझाव छ ।
No comments:
Post a Comment