• Breaking News

    Tuesday, July 25, 2017

    कीर्तिपुरमा सडकको दुर्दशाः १० करोड खर्चिएको पिच १० दिन टिकेन




    १० साउन, काठमाडौं । कीर्तिपुर ल्याबरोटरी स्कुलदेखि कीर्तिपुर प्रवेशद्वारसम्मको सडक पिच गरेको दुई साता नबित्दै भत्किन थालेको छ । ९ करोड ३२ लाख रुपैयाँ खर्च गरेर यो सडक पिच गरिएको थियो ।

    झण्डै १० करोड खर्चिएको पिच १० दिन पनि नटिकेपछि स्थानीयले सरकार र ठेकेदारको अालोचना गरहेका छन् ।

    करिब १३ सय मिटरको यो सडकखण्डमा अहिले थुप्रै स्थानमा पिच उप्किएको छ भने केही स्थानमा भासिएको पनि छ । ठेकेदार र सडक विभागको चरम लापरबाहीका कारण कम गुणस्तरको सामग्री प्रयोग गरिएकाले सडक यसरी बिगि्रएको हो ।

    किर्तिपुर नगरपालिकाले हालै गरेको यसको प्रारम्भिक अध्ययनमा यसमा कम बिटुमिन प्रयोग भएको निष्कर्ष निकालिएको छ ।

    कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन भन्छन्, ‘ठेकेदारले बदमासी गर्दै कम बिटुमिन प्रयोग गर्ने र विभागले त्यसमा आवश्यक नियमन गर्न नसक्दा यस्तो समस्या आएको हो ।’

    मर्मतको तयारी


    वज्रगुरु कवीन्द्र जेभीले २०७३ चैतमा उक्त सडक निर्माणको ठेक्का लिएको थियो । त्यसयता उक्त स्थानमा सवारी आवतजावत गर्न रोक लगाइएको थियो ।

    सञ्चालनमा आएको दुई सातामै पिच उप्किएपछि अहिले सडक विभागले उक्त स्थानमा सवारी आवागमन पुनः रोक्नको लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । अब यो सडकलाई पुनः मर्मत गरिनेछ ।

    सडक विभागले उक्त सडक पुनः मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको डिभिजन सडक कार्यालय २ का प्रमुख देवकुमार तामाङले बताए ।

    उनले भने, ‘हामीले यो सडक निर्माण गरेको भुक्तानी दिएका छैनौ, त्यही रकममा नै मर्मत गर्न भनेका छौ ।’

    किन दुई साता पनि टिकेन पिच ?

    सडक विभाग पिच बिग्रनुमा आफ्नो कमजोरी नरहेको बताउँछ । प्राकृतिक कारणले यो सडक बिग्रन पुगेको बिभागको दावी छ ।

    बिभागको प्रारम्भिक अध्ययन अनुसार जमिन मुनिको पानीले उचित निकास नपाउँदा तह बढेर माथिसम्म आएकाले सडक भत्किएको हो । यद्यपि, यस्तो ठाउँको अध्ययन गरेर मात्रै निर्माण प्रक्रिया अघि बढाउनु पर्ने थियो ।

    मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटा भन्छन्, ‘हामीले त्यो स्थानमा जियो टेक्निकल अध्ययन नगरी निर्माण अघि बढायौं, जसका कारण यस्तो समस्या आएको हो । यसरी जिअाेटेक्निकल अध्ययन नगरी निर्माण गरिएका सडक नेपालमा ९० प्रतिशत सफल भएका छन् भने १० प्रतिशत असफल भएका छन् ।’

    यो सडक नयाँ भने होइन । यो धेरै वर्ष पहिलेदेखि सञ्चालनमा आएको भए पनि अहिले यसलाई चौडा पारिएको मात्रै हो ।

    यो सडकको बारेमा सडक बिभागका कर्मचारीहरु पहिलेदेखि नै अवगत थिए । तर लापरबाहीपूर्ण तरिकाले निर्माण अघि बढाउँदा यो सडकखण्ड पुन प्रभावित भएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel