• Breaking News

    Saturday, July 1, 2017

    बाढीले सप्तरी अस्तव्यस्त, सयौं घर डुबानमा


    बाढीले सप्तरी अस्तव्यस्त, सयौं घर डुबानमा

    राजविराज- शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको जनजीवन अस्तव्यस्त बनाएको छ। खाँडो, जिता, महुली, दुधेलालगायतका नदीमा आएको बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेको छ।

    बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेको छ।

    तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका गाउँमा १ हजार ५ सयभन्दा बढी घर डुबानमा परेको स्थानीय प्रशासनको अनुमान छ। बाढी प्रभावित क्षेत्रसम्म पुगेर प्रहरीले हालसम्म झन्डै ८ सय घर डुबानमा रहेको तथ्यांक संकलन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अनुराग द्विवेद्वीले जानकारी दिए।

    'बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन तथा उद्धार कार्यका लागि प्राथमिकतासाथ प्रहरी परिचालन गरिएको छ', एसपी द्विवेद्वीले भने, 'बाढीले कयांै ठाउँमा सडकसमेत कटान गरेका कारण तथ्यांक संकलन तथा उद्धार कार्य पनि चुनौतीपूर्ण बन्न पुगेको छ।'

    खाँडो नदीमा आएको बाढीले तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नम्बर १ पूर्ण रूपमा डुबानमा परेको वडा सचिव मिथिलेश झाले जानकारी गराए। 'सिंगो गाविस नै डुबानमा छ', वडा सचिव झाले भने, 'तथ्यांक संकलन गरिरहेका छांै तर गाउँका प्रायजसो घरमा बाढी पसेको छ।'

    गाउँको पूर्वमा रहेको खाँडो नदीको पश्चिमी तटबन्ध दुई ठाउँमा भत्किएर गाउँमा बाढी पसेको झाले बताए। 'एक ठाउँमा करिब ७० मिटरजति र अर्को ठाउँमासय मिटर बाँध कटान भएको छ', झाले भने। गाउँका अधिकांश ट्युबवेल र चर्पी डुब्दा खानेपानीको समस्याका साथै प्रदूषणले रोग फैलिने सम्भावनासमेत रहेको उनले बताए।

    तिलाठीस्थित गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी, राजविराज भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र विद्यालय भवन डुबानमा परेको बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवेश पाण्डेले बताए। बाढीले तिलाठी–लौनिया जोड्ने मुख्य सडक र तिलाठीस्थित विभिन्न सडक खण्डमा कटान गरेको छ।

    यसैगरी तिलाठी–३ स्थित सकरपुरा गाउँमासमेत खाँडो नदीको बाढीले उत्पात मच्चाएको स्थानीय सामाजिक परिचालक शिवु यादवले जानकारी गराए। यादवका अनुसार सकरपुराका झन्डै ६० घर डुबानमा परेका छन्।

    खाँडो नदीकै बाढीका कारण राजविराज नगरपालिकाको वडा नम्बर ९ र १० को अधिकांश क्षेत्र डुबानमा परेको छ। एक्कासि आएको बाढीले फुसको संरचना भएका आधा दर्जन घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा र अन्य सामान बगाएको राजविराज–१० डुमरी गाउँका खेलानन्द यादवले बताए। यादवका अनुसार उक्त वडाका डेढ सय परिवार उच्च जोखिममा छन्।

    यस्तै, रूपनी गाउँपालिका–२ मा बाढी पस्दा १ सय घर डुबानमा परेका छन्। स्थानीयको खेतबारी बगाउनुका साथै बस्तीमा पानी छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले बताए।

    यता, सप्तरीको लोहजारास्थित महुली खोलाको पूर्वतर्फको बाँध भत्किँदा साविक त्रिकोल–८ मा डेढ सय घर डुबानमा परेका छन्। लोहजारामा समेत ७० घर जति डुबानमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। त्यस्तै रूपनी गाउँपालिकाको वीरेन्द्र बजार, पौवालगायतका स्थानमा पनि बाढीले जनजीवन प्रभावित पारेको प्रहरीको भनाइ छ।

    बाढीले मलेठस्थित मो. यासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए। बाढीले मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको छ। औद्योगिक क्षेत्रभित्र बाढी पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै पानी पसेर उद्योगमा ठूलो क्षति भएको उद्योग सञ्चालकले बताएका छन्।

    जोखिममा बाँध, त्रसित सर्वसाधारण

    शनिबार बिहान खाँडो नदीमा आएको बाढीले नदीको पूर्वी तथा पश्चिमी तटबन्धको आधा दर्जनभन्दा बढी स्थानमा कटान गरेको छ भने करिब ५ स्थानमा तटबन्ध नै कटान भएको छ। खाँडो नदीको पूर्वी तटबन्धअन्तर्गत सप्तरीको तोपामा बाँध कटान थालेको स्थानीय शिवनारायण मण्डलले जानकारी गराए। 'बिहानैदेखि गाउँलेले कटान रोक्न आकस्मिक काम थालेपछि उक्त कटान तत्काल नियन्त्रण गर्न सकिएको हो,' उनले भने।

    त्यस्तै, साविकको लौनियाँमा खाँडो नदीको पश्चिमी तटबन्धमा कटान हुन थालेको स्थानीय हरिदेव खंगले जानकारी गराए। बाँध निर्माणका क्रममा लापरवाही भएको स्थानीयको आरोप छ। 'खाँडोको बालुवा थुपारेर बनाइएको बाँध कस्तो होला?', प्रश्न गर्दै खंगले भने, 'बाँधको नाममा बालुवा थुपार्ने काम मात्रै भएको छ।'

    तिलाठीस्थित २ ठाउँमा, रूपनीको पौवा तथा राजविराजको डुमरीशिवथानमा समेत नदीको पश्चिमी तटबन्ध कटान नै भएको छ। कमजोर संरचनाकै कारण नवनिर्मित बाँधले पहिलो बाढी पनि थेग्न नसकेको स्थानीयको भनाइ छ।

    यता, नदीको तटबन्धमा कटान भएपछि छेउका बस्तीहरूमा बाढीको त्रास उत्पन्न भएको छ। 'गाउँलेहरू निकै त्रसित भएका छन्', लौनियाँका गजेन्द्र मण्डलले भने, 'कतिखेर नदी गाउँ पस्ने हो, ठेगान छैन, सम्बन्धित निकाय पनि वेपरवाह छन्।'

    यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा जिल्लास्थित उच्च अधिकारीको एक टोलीले बाँध कटानस्थल तथा जोखिममा रहेका स्थानहरूको अवलोकन गरेको छ। शनिबार बिहान अवलोकनकै क्रममा सप्तरीको तोपामा भेटिएका प्रजिअ कटुवालले नदीको अवस्थाप्रति स्थानीय प्रशासन निकै सजग रहेको बताए।

    पीडितको बिचल्ली, भोकै बस्न बाध्य

    घर, भन्सा सबै जलमग्न छ। चारैतिर बाढी रहेका कारण घरबाट निस्कन समेत गार्‍हो भएको छ। चुलो र अन्नपात डुबाएकाले बालबच्चा समेत भोकै बस्नुपर्ने बाध्यता छ।

    शनिबार बिहानै आएको बाढीका कारण शनिबार दिनभर पीडितहरू भोकभोकै बस्न बाध्य भएका छन्। तिलाठी–२ का राजेश मण्डलले भने, 'घरमा समेत ३ फिटसम्म पानी रहेको छ, यस्तो अवस्थामा खाना पकाउने कुरै आएन।' चारैतिर बाढीले थुनिएर रहेका कारण घरबाट निस्कन सक्ने समेत अवस्था नरहेको मण्डलले जानकारी गराए। उनले भने, 'चिउरा, मुरहीलगायत खानेकुरासमेत किनेर ल्याउन सक्ने अवस्था छैन।'
    खाद्यान मात्रै नभई बाढी प्रभावित क्षेत्रमा खानेपानीको समेत समस्या उत्पन्न भएको स्थानिय बाढी पिडित बाबुनारायण मिश्रले जानकारी गराए। 'ट्युवेलसमेत डुबानमा परेपछि खानेपानीको समस्या उत्पन्न भएको छ', उनले भने, 'खानेपानीको मुहानमै बाढीको पानी पसेर दुषित भएका कारण रोगको जोखिमसमेत बढेको छ।'
    यता बाढीका कारण रोपाइँ गरिएका हजारौ विगाह खेतीयोग्य जग्गा बगरमा परिणत भएपछि स्थानीय किसान निकै पिडामा परेका छन्। 'घरमा भएजतिका खाद्यान्न मात्रै नष्ट भएन, लगाइएको बाली पनि वर्वाद भयो', तिलाठी–६ का विरेन्द्र झाले भने, 'हामी गरिब किसान त चौतर्फी मारमा परेका छाँै।'

    तिलाठी मात्रै नभई सप्तरीका झण्डै दर्जन बढी गाउँका करिब डेढ हजार परिवार बाढीवाट प्रभावित भएका छन्। बाढी प्रभावित सबै स्थानमा हालसम्म सुरक्षा निकायलगायतका सरोकारवालाहरू समेत पुग्न सकेका छैनन्। स्थानीय प्रशासन अझै पनि बाढी पिडितको तथ्यांक संकलन गर्ने काम भइरहेको बताउँदै आएको छ।

    खोलाले बगाएर एक सशस्त्र प्रहरीको मृत्यु

    खोलाले बगाएर एक जना सशस्त्र प्रहरी साहायक हवल्दारको शनिबार मृत्यु भएको छ। मृत्यु हनेमा सप्तरीको कोबर्साइन बोर्डर आउट पोष्टमा कार्यरत सहायक प्रहरी हवल्दार सुमन आचार्य रहेको सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी गराए।

    बोर्ड पोष्ट भन्दा ४ सय मिटर पूर्वकोसीको भंगालोबाट उनको शव फेला परेको यादवले बताए। शनिबार बिहानैदेखि हराइरहेका सशस्त्र प्रहरी हबलदार आचार्यको शव खोज्न गोताखोर प्रयोग गर्नुपरेको उनले बताए।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel