• Breaking News

    Thursday, June 29, 2017

    पोखराको रोपाईं महोत्सवमा रमाए पर्यटक (फोटो फिचर)



    १५ असार, पोखरा । पर्यटन प्रबर्द्धनमा सघाउ पुर्‍याउने उद्धेश्यले पोखरामा बिहीबार आयोजित ‘रोपाईं महोत्सव’मा पर्यटकले पनि हिलो खेलेर रमाईलो गरेका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा ‘पोखरा सबै मौषमका लागि’ भन्ने नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ पक्कीपुल नजिकै ठूलीफाँटस्थित गोविन्दबहादुर खड्काको ८ रोपनी क्षेत्रफलमा भएको रोपाईं महोत्सवमा पर्यटक रमाएका हुन् । महोत्सवमा करीब ३ सय ५० विदेशीसहित १५ हजार आन्तरिक पर्यटक सहभागी भएको महोत्सव संयोजक नवराज अधिकारीले बताए ।

    रोपाईं गर्ने जमिन पहिल्यै हिलो बनाएर राखिएको थियो । जसमा हलगोरु नारेर जोतेको ठाउँमा साउने लगाएर रोप्नको लागि तयार पारियो । अनि कोही बाउसे बने त कोही जोतारे, कसैले साउने गरे त कोही रोपारे । गाउँको झल्को दिनेगरी भएको कार्यक्रममा आपसमा हिलो छ्यापाछ्याप गर्दै रमाईलो समेत गरे ।

    महोत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु पनि आयोजना भए । जस अन्तर्गत असारे साउने प्रतियोगितामा चित्रनाथ आचार्य प्रथम, सुमन थापा द्वितीय र विल बहादुर विक तृतीय भए । पर्यटक हिले दौड प्रतियोगितामा च्यारिस प्रथम र याङगर द्वितीय भए । त्यसैगरी महिला तर्फको पर्यटक दौडमा वेलायतकी रिविका प्रथम र आईरल्याण्डका रिविका नामकै महिला पर्यटक द्वितीय भईन् । नेपाली तर्फ भएको हिले दौडमा आशिष खनाल प्रथम र शम्भु थापा द्वितीय भए भने नेपाली महिला तर्फ अस्मिता खनाल प्रथम र डोल्मा गुरुङ द्वितीय भईन ।

    प्रतियोगिता अन्तर्गत रोपाईं प्रतियोगितामा स्थानिय मैदान आमा समुह र लेखनाथको नव प्रगतीशिल आमा समुह द्वितीय भए ।


    महोत्सवका अवसरमा स्थानिय सहितका कास्कीका ४ जना उत्कृष्ट किसान सम्मानित भएका छन् । तरकारीबाट शिव माया शेरपुञ्जा, खाद्यान्न तर्फ सुर्यप्रसाद अधिकारी, माछापालन तर्फ अमृत गुरुङ र स्थानिय कृषक तरकारीबाट राजेन्द्रबाबु कार्कीलाई उत्कृष्ट किसान घोषणा गर्दै सम्मान पत्रको साथमा दोसला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जि.सी.ले पछिल्लो क्रममा जग्गा खण्डिकरण हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले धान उत्पादन हुने खेतीलाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।

    नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले परिषदले हरेक बर्ष विभिन्न स्थानमा असारे रोपाई महोत्सव गरेर कृषकहरुलाई हौस्याउने काम गरेको भन्दै परिषदको प्रशंसा गरे ।

    पोखरा क्षेत्रमा हुने गरेको धानखेतीलाई प्रोत्साहन गर्दै खेतियोग्य भुमीको संरक्षण गर्ने उद्धेश्यले पनि आफुहरुले नगरका विभिन्न क्षेत्रमा हरेक बर्ष असारे रोपाई महोत्सव गर्दै आएको परिषदका अध्यक्ष शर्माले बताए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel