• Breaking News

    Tuesday, February 28, 2017

    ब्यारेकबाट निस्कने भयो नेपाली सेना !

    काठमाडौं, १८ फागुन । स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन गृह मन्त्रालयले निर्वाचनकेन्द्रित सुरक्षा योजनाको गृहकार्य थालेको छ ।

    सरकारले ३१ वैशाखमा गर्ने घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न मन्त्रालयले सुरक्षा योजनाको गृहकार्य थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    गृह मन्त्रालयले दोस्रो संविधानसभा निर्वाचनकै समयमा अख्तियार गरेजस्तै सुरक्षा घेरा लागू गर्ने भएको छ । अघिल्लो पंक्तिमा नेपाल प्रहरी परिचालित हुनेछ ।

    संवेदनशील क्षेत्रमा कुनै घटना भएमा सशस्त्र प्रहरीलाई अगाडि सारिने र स्थिति अति संवेदनशील भएमा सेनालाई परिचालन गरिनेछ । अति संवेदनशील क्षेत्र मानिएका बुथनजिकै सेनालाई पिकेटिङ गरेर राखिने र आवश्यकताअनुसार खटाउन सकिने गृहको तयारी छ ।

    गृह मन्त्रालयले केही दिनयता चारवटै सुरक्षा निकायका उच्च प्रतिनिधिहरूसँग छलफल जारी राखेको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका उच्चस्तरका प्रतिनिधिहरूसँग सघन रूपमा छलफल थालिएको जानकारी दिए ।

    ‘निर्वाचनकेन्द्रित सुरक्षा योजना बनाउन चारवटै सुरक्षा निकायसँगको छलफललाई जारी राख्दै आएका छौँ, अब छिटै अन्तिम टुंगोमा पुग्नेछौँ,’ पन्थीले भने ।

    गृह मन्त्रालयले निर्वाचनकेन्द्रित सुुरक्षा योजना बनाउने क्रममा नेपाली सेनासँग नियमित छलफल थालेकाले स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने करिबकरिब निश्चित छ । सेना परिचालन भए पनि त्यसको समन्वय भने गृह मन्त्रालयले नै गर्ने पन्थीले बताए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel