• Breaking News

    Monday, November 6, 2017

    संयुक्त चुनाव प्रचारमा गठबन्धन


    २१ कात्तिक, तेह्रथुम ।
    चुनावका लागि उम्मेदवारी दिएका दलहरुले पार्टीको प्रचारप्रसार कार्यक्रम तीव्ररुपमा अघि बढाएका छन् । वाम गठबन्धनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त टोलीबाट प्रचारप्रसार शुरु भएको छ । यता नेपाली काँग्रेसले पनि जिल्लाभरि नै कार्यकर्तालाई परिचालित गरेको छ ।

    गठबन्धनका दुवै दलका साझा उम्मेदवारलाई जिताउन उत्तिकै जिम्मेवारी रहने बताउँदै केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ता परिचालित छन् । नेपाली काँग्रेसका नेताहरु पनि गाउँ पसिसकेका छन् । स्थानीय चुनावमा दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका पाँच वटा स्थानीय तहमा नेकपा (एमाले)ले जित निकालेको थियो । बाँकी एक तहमात्रै काँग्रेसले जितेको थियो । तर अहिले काँग्रेस पनि जित आफ्नो पक्षमा निकाल्ने दाउमा छ भने एमाले पुरानै जित दोहो-याउने दाउमा छ ।

    प्रतिनिधि सभामा काँग्रेसकी युवा नेत्री तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिस्पर्धात्मक उम्मेदवारी छ ।

    यस्तै, संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा (माले)का डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङ्वाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको पनि उम्मेदवारी परेको छ ।

    यस्तै, प्रदेश सभा–१ मा नेपाली काँग्रेसका गोविन्द ढुंगाना, वाम गठबन्धनका लागि एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सूर्य मादेन, नेकपा (माले)का माधवप्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका वीरबहादुर थापाको उम्मेदवारी छ ।

    क्षेत्र नं २ मा काँग्रेसका विजय सम्बाहाम्फे, वाम गठबन्धनका तेजमान कन्दङ्वा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार लिम्बू, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङ्वा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी छ ।

    प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लाबाट प्रदेश सभा–१ मा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका तथा प्रदेश सभा–२ मा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel