२२ कात्तिक, काठमाडौं । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि भोलि विहीबारदेखि पुनः दिनको चार पटक गरी साढे चार घण्टा सवारी रोकेर काम गरिने भएको छ ।
निर्वाचनको समय भएकाले सवारी आवागमन बढ्ने हुँदा दिउँसोमा सवारी रोक्दै छोड्दै गर्न लागिएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ७ देखि साढे ८ बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म आवागमन रोकेर भित्तो काट्ने सहमति भएको छ ।
स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीहरुका बीचमा भएको छलफलपछि छोटोछोटो समय सवारी रोकर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको हो । वर्षाद् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । भदौ २८ गतेबाट भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिंदै आएको छ । त्यस अघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार भित्तो काट्ने समयमा सवारी रोक्नका लागि रामनगर प्रहरी, प्रहरी चौकी जुगेडी, अस्थायी प्रहरी पोष्ट सिमलताल र ईलाका प्रहरी कार्यालय मुग्लिनलाई जिम्मेवारी दिईएको छ ।
भित्तो काट्ने ठाउँको दुवैतर्फ आवश्यकता अनुसार ती क्षेत्रका प्रहरीले सवारी रोक्नेछन् । यस अघि मुग्लिन र रामनगरमा सवारी रोकेर काम गर्ने गरिएको भए पनि अहिले जुन ठाउँमा भित्तो काट्नु पर्ने हो सोही ठाउँको नजिक मात्रै सवारी रोकिने पन्तले जानकारी दिए ।
कालोपत्र भईरहेका ठाउँमा भने आलोपालो गरेर एकतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ । पिच भईरहेका ठाउँहरुमा पनि एकातर्फको बढीमा ३० मिनेट रोक्ने र पुनः अर्काेतर्फ बन्द गर्ने गरी सवारी व्यवस्थापन गरिने पन्तले बताए ।
इञ्जिनियर खनालका अनुसार सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी तीन सय मिटर क्षेत्रमा भित्तो काट्न बाँकी छ । ती ठाउँहरुमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने खनालले बताए ।
उक्त सडक खण्डको हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । नारायणगढ मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाईदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाईदैछ ।
यसैबीच यही कार्तिक २५ गते शनिबार उक्त सडक खण्ड दिउँसो ७ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको सेतीदोभानमा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न एक दिनका लागि दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो । विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आवागमन रोकेर काम गरिने खनालले जानकारी दिए ।

No comments:
Post a Comment