• Breaking News

    Sunday, November 5, 2017

    विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य


    २० कात्तिक, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन ।

    नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे ।

    मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने उल्लेख गरे ।

    केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए ।

    अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नं.–२ का उम्म्ेदवार डा मीनेन्द्र रिजालले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसको नेतृत्वमा समृद्धि र अभियान’ मूलनाराका साथ काँग्रेस निर्वाचनमा होमिएको प्रशंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गरे । मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली काँग्रेस रहेको भन्दै उनले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने विषयमा जोड दिए ।

    नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बू, क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली काँग्रेसद्वारा नै मुलुकको समृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस् पहल गर्ने प्रतिबद्धता प्रकट गरे ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel