• Breaking News

    Sunday, November 5, 2017

    रसुवाका उम्मेदवारको साझा नारा : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म


    १९ कात्तिक, रसुवा । नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन् ।

    जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका हुन् । पछिल्लो समय फेसबुक, ट्वीटर, अनलाइनलगायतका सामाजिक सञ्जालबाट पनि मत माग्ने प्रचलन बढेर गएको छ तर जिल्लाका अधिकांश बासिन्दामा सामाजिक सञ्जालको पहुँच नभएका कारण घरमै पुगेर मत माग्नुपर्ने अवस्था आएको भोट माग्न घर–घर पुगेका स्थानीय नेता राजेन्द्र आचार्यले बताए ।

    जनतासँग भोट माग्न रसुवाका उम्मेदवारले पोष्टर, पम्प्लेट, माइक, पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग गर्दै आएका छन् ।

    नेपाली काँग्रेस र नयाँ शक्ति नेपालबीचको लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका नेता इञ्जनियर मोहन आचार्य, प्रदेश (क) मा नेपाली काँग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन ।

    यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (एमाले)का जनार्दन ढकाल, प्रदेश (क) मा नेकपा (एमाले)का कन्र्याल लामा तथा प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रप्रसाद गोतामे चुनावी मैदानमा छन । यसैगरी केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    रसुवामा उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँच गाउँपालिका छन् । यही वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई, नेकपा (एमाले)ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हाँसिल गरेको थियो ।

    शनिबार लोकतान्त्रिक गठबन्धनले नौकुण्ड गाउँपालिकाको सर्सिऊँमा आमसभा गरेर आफ्नो पक्षमा भोट मागिरेहको थियो भने वाम गठबन्धनले गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चेमा आमसभा गरेर मत मागिरहेको थियो । मत माग्ने क्रममा दुवै पक्षका उम्मेदवारले आफ्नो जित सुनिश्चित हुने दाबीसमेत गरेका थिए ।

    वाम गठबन्धनका उम्मेदवार ढकाल नेकपा (एमाले) रसुवाबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचित सांसदसमेत हुन । “विसं २०७० को निर्वाचनमा संविधान निर्माणका लागि भोट मागेका थियौँ, अहिलेको निर्वाचनमा समग्र जिल्लाको विकासका लागि भोट मागेको छु”– उनले भने ।

    लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका इञ्जिनियर आचार्य काँग्रेसका युवा नेता हुन । उनी जिल्लामा भएका स्रोतसाधनको प्रयोग गरी जिल्लालाई नमूना बनाउने उद्देश्यका साथ उम्मेदवार बनेको बताए । “म इञ्जिनियर हुँ, रसुवा जिल्लाको विकास कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसँग थाहा छ”– उनले भने ।

    यसैगरी दुवै उम्मेदवारले सडक सञ्जालले विदेश छोएको अन्तर्राष्ट्रिय नाका केरुङलाई व्यवस्थित बनाउने, सबै गाउँमा मोटरबाटो पु-याउने, रसुवावासीलाई रोजगारी दिने, जलविद्युत् उत्पादन गरेर रसुवाली जनतालाई शेयर दिलाउने लगायतका नारा मतदातासमक्ष दिएका छन् । रसुवाका २७ वडामा ३२ हजार ३२३ मतदाता छन् । –अच्युत रेग्मी/रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel