• Breaking News

    Tuesday, November 7, 2017

    सुस्त टेलिकमः मुख्य शहरमा ‘फोरजी’ पुग्न अझै एकवर्ष !


    २१ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले काठमाडौं र पोखरामा फोर-जी (एलटीई) सेवा सरुवात गरेको एक वर्ष बित्न लाग्यो । टेलिकमभन्दा ५ महिनापछि फोर-जी सेवा थालेको निजी सेवा प्रदायक एनसेलले देशभरका १९ शहरमा विस्तार गरीसक्यो । तर, टेलिकम अन्य शहरमा फोर-जी सेवा पुर्‍याउन एक वर्ष लाग्ने बताउँछ ।

    टेकिलम तीव्र गतिको इन्टरनेटमा आधारित सेवा विस्तारमा आक्रमक देखिएको छैन । उसको सुस्तताले फोर-जी सेवा लिन आतुर टेलिकमका लाखौं उपभोक्ता थ्री-जीमै सीमित हुनुपर्ने बाध्यतामा छन् ।

    १० महिनापछि प्रक्रिया सुरुसबै मुख्य शहरका एनसेल प्रयोगकर्ताले फोर-जी चलाउन पाइसके । तर, सरकारी कम्पनीका सेवाग्राही भने अझै एकवर्षसम्म पनि फोर-जी चलाउनबाट बञ्चित हुने अवस्था छ ।

    टेलिकमले सेवा सुरुवात गरेको साढे १० महिनापछि काठमाडौं र पोखराबाहिरका शहरमा फोर-जी विस्तार गर्न ‘कोर इक्विपमेन्ट’का लागि टेण्डर आह्वान गरेको छ ।

    उसले अझै टावरसम्बद्ध नेटवर्क इक्विपमेन्ट र उपकरण जडानको ठेक्का अझै पनि आह्वान गरेको छैन । टेकिलमकी प्रवक्ता प्रतिभा टेलिकमलाई अन्य स्थानमा सेवा लैजान एकवर्ष लाग्ने स्वीकार्छिन् ।

    ‘अब नेटवर्क इक्विमेन्टको लागि ठेक्का लगाउँछौं,’ प्रवक्ता वैद्यले भनिन्,’अबको एक वर्षभित्र हामी देशका धेरै स्थानमा एलटीई सेवा पुर्‍याउँछौं ।’

    टेलिकम फोर-जी सेवा विस्तारमा ढिलाई भएको स्वीकार्छ । तर, ऊसँग त्यसको बाहना पनि छ ।

    ‘हाम्रो खरिद प्रक्रिया निजी कम्पनीको जस्तो सजिलो छैन । हामीले धेरै कागजात मिलाउनुपर्छ,’ वैद्यले भनिन्,’हामी विस्तारको योजनाअनुसार सुरुदेखि नै गृहकार्य गरिरहेका थियौं । बल्ल पहिलो टेण्डर गरेका छौं ।’
    अहिले पोखरा र काठमाडौंमा टेलिकमका ५ लाख फोर-जी इन्टरनेट प्रयोगकर्ता छन् । यदि टेलिकमले समयमै सेवा विस्तार गरेको भए यतिबेला यसमा ठूलो प्रयोगर्ताको संख्या थपिने थियो ।

    ‘ढिलाई शंकास्पद’

    फोर-जी तीव्र गतिको डाटा इन्टरनेट भएकाले सेवा विस्तार नभएका शहरहरुमा टेलिकमका सेवाग्राही अझै पनि चासोकासाथ यसलाई कुरिरहेका छन् ।

    समयमै सेवा विस्तार गर्न सकेको भए टेलिकमको डाटा उपयोगको दर पनि बढ्ने थियो । त्यसले टेलिकमको नाफामा पनि सकारात्मक प्रभाव छाड्न सक्थ्यो ।

    तर, टेकिलमका अधिकारीहरुले फोर-जीसेवा विस्तारमा किन ढिलाइ गरे भन्ने प्रश्न भने उब्जिएको छ ।

    नेपाल टेलिकमले गत पुस १७ गतेबाट फोर-जी सेवा थालेपछि कम्पनीको डाटा खपत बढेको छ । पहिलेको तुलनामा टेलिकमको डाटा खपतदर ७० प्रतिशत बढेको टेलिकमले जनाएको छ ।

    फोर-जीको प्रभावकारिता र फाइदाबारे राम्रो जानकार हुँदा-हुँदै प्रक्रियाको जटिलाताकै कारण देखाएर सेवा विस्तारमा गरिएको ढिलाई शंकास्पद भएको मोफसलका टेकिलम प्रयोगकर्ता बताउँछन् ।

    ‘निजी कम्पनीले फटाफट सेवा ल्यायो । तर, टेलिकमको अत्तोपत्तत्त छैन,’ हेटौंडाका सविन तिमल्सिना भन्छन्,’निजीलाई मोटाउन दिन यसो मिलेमतोमै गरिएको हो भन्ने सुनिन्छ । उसको काम गराई पनि त्यस्तै देखिन्छ ।’

    नोक्सानी टेकिलमलाई

    उता निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका ग्राहकहरुले गर्ने प्रतिग्राहक डाटा खपत एक वर्षमा २ गुणाभन्दा बढीले वृद्धि भएको छ ।

    एनसेलको माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिकको प्रतिवेदनअनुसार प्रतिग्राहक प्रतिमहिना डाटा खपत ३४१ एमबी पुगेको छ ।

    गतवर्ष सोही अवधिको तुलनामा यो दोब्बरभन्दा बढीले वृद्धि हो । गतवर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा खपत १६० एमबी रहेको थियो । पछिल्लो समयमा डाटा खपत बढ्नुको प्रमुख कारण फोरजी सेवा रहेको प्रतिवेदनमा उल्लेख छ ।
    फोर-जीकै कारण टेलिकमको पनि डाटा खपतदर ह्वात्तै बढेको छ । तर, तत्कालै सेवा विस्तार गनुपर्ने मुख्य शहरमै फोर-जी नपुग्दा टेलिकमलाई ठूलो नोक्सानी भने भएको छ ।

    एनसेलले पहिलो चरणमा काठमाडौं उपत्यका -नगरकोटसहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो त्यसपछि सेवा विस्तार गर्दै हाल पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न १९ शहरमा फोरजी सेवा प्रदान गर्दै आएको छ ।

    एनसेलले सन् २०१८ को अन्त्यसम्ममा देशको ४० शहरहरुमा फोरजी सेवा पुर्‍याउने लक्ष्य सहित नेटवर्क परिक्षण लगायतका कामहरु गरिरहेको जनाएको छ ।

    त्यसैगरी कम्पनीले डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउन इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्ने र सन् २०१८ भित्रमा दुर्गम र ग्रामीण क्षेत्र लक्ष्य गर्दै थि्रजी सेवा देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्‍याउने बताउँदै आएको छ ।

    योजनामै सीमित

    तर, प्रतिस्पर्धी टेलिकम भने तीव्र गतिमा सेवा विस्तारमा लागेको देखिँदैन । सेवाको सुरुवातको समयमा टेलिकमले एक वर्षभित्र देशभर फोर-जी पुर्‍याउने घोषणा गरेको थियो ।

    पहिलो चरणमा १५ उपमहानगरपालिकामा विस्तार गर्ने योजना थियो । ३ महानरपालिकासहित १२ वटा उपमहानगरपालिकामा फोर-जी सेवा विस्तार गर्ने गरी तयारी भइरहेको टेलिकम बताउँछ ।

    बिर्तामोड, धरान, इटहरी, भरतपुर, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका क्षेत्रमा अब फोर-जी विस्तार हुनेछ ।

    सँगै केही शहरी बस्ती बाक्लो भएका नगरपालिका र गाउँपालिकामा पनि फोर-जी सेवा सुरु गर्ने प्रवक्ता वैद्यले बताइन् ।

    के हो फोरजी ?

    फोरजी ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रविधि हो ।

    पछिल्लो प्रविधि भएको हुनाले स्वभाविक रुपमा फोरजी थ्रीजीभन्दा तीव्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ ।

    विभिन्न देशमा टेलिकम कम्हपनीरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपालका सेवा प्रदायकले भने औसत ३५ एमबीपीएसमा फोरजी चलाइरहेका छन् ।

    फोर-जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्छन्

    २०७४ कार्तिक २१ गते १४:३९ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel