
काठमाडौं । गरिबी निवारण कोषले १५ अर्ब बराबरको सामाजिक कोष स्थापना गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गरिबी निवारणका लागि तय गरेको भावी रणनीतिबारे जानकारी गराउने क्रममा कोष स्थापनाबारे बताइएको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा कोषका पदाधिकारीहरुले दश लाख अति विपन्न एवं गरिब घर परिवारलाई सेवा पुर्याउदै आएको जानकारी दिए । अति विपन्न एवं गरिब घर परिवारलाई वर्षको आठ महिनाका लागि खाद्यान्न सुरक्षित रहेको पनि कोषले जनाएको छ । कार्यक्रम र श्रोतका उपाय विविधिकरणका लागि आगामी तीन हप्तापछि सरोकारवालाकाबीचमा उच्चस्तरीय बैठक गरिने कोषका उपाध्यक्ष वाईबी थापाले जानकारी गराए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भने गरिबी निवारणका लागि वित्तीय श्रोत विस्तार गर्न विभिन्न मन्त्रालयसमेत सम्मिलित टास्कफोर्स गठन गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका थिए । जसमा मन्त्रिपरिषद सचिवालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव संलग्न रहने जनाइएको छ ।
No comments:
Post a Comment