
मणि दाहाल
कालीखोला – मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलामा पसल सञ्चालन गर्दै आएका राजन गुरुङको परिवार अचेल राति घरमा बस्दैन । रातको समयमा कहाँ जान्छ त लालाबाला बोकेर गुरुङ परिवार ?
‘पहाडबाट कति बेला पहिरो खस्छ थाहा हुँदैन । दिउँसो भए केही हलचल थाहा हुन्छ । रातिको के भर भो र ?’ गुरुङले भने, ‘रात परेपछि हाम्रो परिवार चौतारामा सर्छ ।’ सडक विस्तारका कारण आउने पहिरोमा पर्ने त्रासले बर्खा सुरु भएलगत्तै गुरुङ परिवार चौतारामा बस्न थालेको हो ।
‘पहाडबाट कति बेला पहिरो खस्छ थाहा हुँदैन । दिउँसो भए केही हलचल थाहा हुन्छ । रातिको के भर भो र ?’
केही दिनअघि राति खसेको पहिरो उमा विष्टको घरको पलङ नै पुर्यो । ‘त्यस दिन चौतारामा सुत्न गएका थियौं, त्यसैले मानवीय क्षति केही भएन,’ ४६ वर्षीया विष्टले भनिन् । उनका अनुसार सडक विस्तारका क्रममा पहाड काट्न थालेपछि पहिरो खस्न सुरु भएको हो ।
कालीखोलामा सुख्खा पहिरो पनि खस्ने गरेको छ । १२ वर्षदेखि कालीखोला क्षेत्रमा बस्दै व्यवसाय गर्दै आएकी उमाले पहिरो जाने वा नजाने संकेत पहिले नै पाइने बताइन् । उनले भनिन्, ‘रूख र बुट्यान खस्दा सुइँसुइँ सुनिन्छ । अहिले रूख छैन । ढुंगा बजेको सुनिन्छ ।’
विष्ट र गुरुङजस्तै चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलाका २८ परिवारमा पहिरोको उच्च जोखिममा छ ।
उमाका पति ५१ सुरेन्द्रले सडक विस्तार गर्नेले कसरी पहाड काट्दा पहिरो खस्दैन भन्ने विषयमा ध्यान नदिएको बताए ।
दैनिक पाँच हजारभन्दा गाडी चल्ने नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले पहिरो जाने क्रम बढेको छ ।
सडक विभागले उक्त खडक खण्डका २९ स्थानमा पहिरो जाने सम्भावना भएको जनाएको छ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलले निर्माणको काम भइरहँदा पहिरो झर्नु स्वाभाविक भएको प्रतिक्रिया दिए ।
‘सडक निर्माणका क्रममा पहिरो खस्छ त्यो स्वाभाविक हो । तर मानवीय क्षतिसमेत भयो । योचाहिँ कल्पनाबाहिरको विषय हो,’ सिग्देलले भने, ‘पहिरो रोक्ने विषयमा हाम्रो ध्यान गएको छ ।’
उनले पहिरो रोक्न तारजालीको पर्खाल लगाउनुका साथै बायो इन्जिनियरिङको काम अघि बढाइने बताए । ‘कतिपय यस्ता पहाड छन्, जसमा खुकुलो बनोटका कारण सबै नझरी सकिँदैन,’ सिग्देलले भने, ‘त्यस्ता पहिरोले तीन–चार वर्षसम्म पनि दुःख दिन सक्छ ।’
चालीस वर्षअघि सडक निर्माणका क्रममा भएको विस्फोट, भूकम्प, अन्य मानवीय तथा प्राकृतिक गतिविधि र त्यस क्षेत्रको भूबनोटमा आएको परिवर्तनबारे पर्याप्त अध्ययन नभएको जानकारहरू बताउँछन् ।
चितनवको आँपटारीदेखि मुग्लिन ३६ किलोमिटरको सडक खण्डमा मुग्लिनतर्फको खण्ड सबैभन्दा जोखिमपूर्ण छ ।
कालीखोलामा गत साता प्रहरीको गाडी पहिरोमा पर्दा त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । पहिरोबाट एउटा एक ट्रक त्रिशूली नदीमा खस्न पुगेको थियो ।
संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले गत मंगलबार नारायणगढ–मुग्लिन सडक खण्डको स्थलगत अवलोकन गरेको थियो । टोलीमा सडक विभागका अधिकारी पनि थिए ।
भरतपुरमा समितिले आयोजना गरेको अन्तरक्रियामा सभापति अधिकारीले पहिरो जाने स्थानबाट मुआब्जासहित बस्ती सार्ने विषयलाई प्राथमिकतामा राख्न निर्देशन दिए । सो परियोजनाका प्रमुख एवं सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले जोखिममा रहेका घरलाई मुआब्जासहित स्थानान्तरण गरिने बताए ।
तीन खण्डमा गरेर एसियाली राजमार्गस्तरको सडक निर्माणका लागि विश्व बैंकको दुई अर्ब ९२ करोड रुपैयाँ लागतमा यो सडक निर्माण भइरहेको हो । सडक निर्माणका लागि दुई वर्ष समय तोकिएको थियो ।
‘सबैभन्दा बढी भएको तेस्रो खण्डमा १२ किलोमिटरमा ७० मिटर मात्रै वाल बनाउने गरी परियोजना डिजाइन गरिएको छ,’ रौता कन्ट्रक्सनका प्रमुख धर्मराज दाहालले भने, ‘पहाड काटेको ठाउँमा पहिरो झर्छ भनेर ध्यान दिएको देखिँदैन ।’
No comments:
Post a Comment