• Breaking News

    Thursday, June 29, 2017

    कोरियन भाषा परीक्षाको रिजल्ट भोलि नआउने, छुटेकाको पुनः परीक्षा तोकियो

    १५ असार, काठमाडौं । भोलि शुक्रबार कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित नहुने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो ।


    तर, गत जेठ २७ र २८ गते भएको परीक्षामा सरकारकै लापरवाहीका कारण केही परीक्षार्थीले जाँच दिन नपाएपछि अब साउन ११ गते नतिजा आउने गरी नयाँ तालिका बनाइएको छ ।

    एसियन इन्स्टीच्युट अफ टेक्निोलोजि एण्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए । परीक्षाको तालिका परीक्षार्थीको संकेत नम्बर गलत रुपमा प्रकाशित भएकाले धेरैको परीक्षा छुटेको थियो ।

    अब यो परीक्षा केन्द्रमा जाँच दिन नपाएकाहरुलाई सिभिटी अर्थात अनलाइन प्रविधिबाट कम्युटरमै परीक्षा हुने भएको छ ।

    असार २१ गतेदेखि २९ गतेसम्म तीन सिफ्टमा उनीहरुको लागि परीक्षा लिने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।छुटेकाहरुको परीक्षा सकिएपछि एकैपटक सबैको रिजल्ट साउन ११ गते प्रकाशित हुने उनले बताए ।

    उनीहरुको प्रवेशपत्र नम्बरसहित तालिका असार १४ गतेको गोरखापत्र दैनिकमा प्रकाशित भइसकेको छ । यो वर्ष झण्डै ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा अावेदन भने साढे ७५ हजारले भरेका थिए ।

    त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उर्त्तीण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel