• Breaking News

    Thursday, May 25, 2017

    गाउँको मुहार फेर्ने अठोट लिएका वडाध्यक्ष



    चौतारा, ११ जेठ । युवापुस्तालाई चुनौती दिँदै ८० वर्षीय मानबहादुर खड्का सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

    दोलखाको कालिन्चोकसँग सिमाना जोडिएको दुर्गम घोर्थलीका यी वृद्धले प्रतिस्पर्धी माओवादी केन्द्रका कमल खत्रीलाइ १३८ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो । सो वडामा एमालेले १०२, राप्रपाले दुई र नयाँशक्ति पार्टीले एक मत मात्र ल्याउँदा गाउँको मुहार फेर्ने अठोट लिएका खड्का फराकिलो मत अन्तरले विजयी हुनुभएको छ ।

    पञ्चायत कालमा दुई÷दुई पटक वडा सदस्य भएका खड्का २०५४ सालमा भएको निर्वाचनमा वडाध्यक्ष पदमा दुई मतले पराजित हुनुभएको थियो । यो उमेरमा किन रहर गर्नुभएको भन्ने प्रश्नमा उहाँ भन्नु्हुन्छ, “गाउँको विकास गर्ने धोको बाँकी नै थियो, अनि जनताले साथ दिएपछि विजयी पनि भएँ, अब जनतालाई निरास नपार्ने गरी सर्वप्रथम खानेपानी र सडक निर्माणमा जोड दिन्छु, भइरहेको मुहान भुकम्पले सुकाएपछि यहाँ खानेपानी चर्को अभाव भएकाले पहिले त्यसको व्यवस्थापनमा लागिपर्छु ।”

    सुरुदेखि नै सामाजिक कार्यमा सक्रिय खड्का दुईवटा सडकलाई प्राथमिकता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि पहल गर्ने बताउनुहुन्छ ।

    पहिलो पटक अल्पसङ्ख्यक माझी समुदायबाट चौतारा साँगाचोकगढी–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा विजयी सुशील माझीले सर्वप्रथम समुदायमा सचेतना कार्यक्रम ल्याई आफ्नो समुदायलाई पछौटेपनबाट मुक्त गराउने बताउनुहुन्छ । काभ्रेको दोलालघाटस्थित बन्देउसँग सिमाना जोडिएको र इन्द्रावती नदी किनारमा रहेको उक्त माझी बस्तीमा खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडक क्षेत्रमा आफूले उल्लेखनीय कार्य गरेर देखाउने दृढता उहाँले व्यक्त गर्नुभयो ।

    जनसङ्ख्या र क्षेत्रफलमा जिल्लाकै ठूलो मानिएको साबिक साँगाचोक गाविसकै नाममा चौतारा नगरपालिकालाई पछिल्लो पटक साँगाचोकगढीसँग जोडिएको हो । तीनवटा वडा रहेको साँगाचोकलाई सदरमुकाम प्रवेश गर्ने द्वारका रुपमा लिईन्छ । विशेषगरी माझी र दनुवार समुदायको बसोबास रहेको इन्द्रावती गाउँपालिका–१२ भीमटारमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा विजयी कमलरत्न दनुवार पनि आफ्नो समुदायबाट विजयी भएकोमा खुसी व्यक्त गर्दै वडाको विकासमा सक्रिय रहने प्रण गर्नुभयो ।

    इन्द्रावती नदी किनारमा अवस्थित सो बस्तीको डिलमुनि इन्द्रावती बगे पनि फाँट सुक्खा रहेकाले लिफ्टिङद्वारा सिँचाइ गर्ने सोचमा आफू रहेको बताउँदै कमलरत्न दनुवारले विकासका सबै पूर्वाधारलाई एकैसाथ अगाडि बढाएर साना उद्योग सञ्चालन गरी युवायुवतीलाई रोजगार दिइने योजना अगाडी ल्याउने छु भन्नुभयो ।

    त्यहाँ सञ्चालित विभिन्न क्रसर उद्योगले नदी गहिराएर भर्खरै निर्मित पक्की पुललाई समेत असर पु¥याएकाले त्यस्ता उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न दबाब दिइने पनि उहाँ बताउनुहुन्छ । दुई वटा वडा रहेको सो बस्तीको वडा नं. ११ मा एमालेबाट मणि माझी वडाध्यक्ष पदमा विजयी हुनुभएको र उहाँ पनि आफ्नो समुदायको उत्थानका लागि माथिका सबै योजना लागू गर्न सहमत हुनुहुन्छ ।

    चौतारा साँगाचोकगढी नपा–४ बतासेमा राप्रपाका तर्फबाट वडाध्यक्ष पदमा विजयी दीपेन्द्र थापाले पनि खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखिने बताउनुभयो । रासस







    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel