• Breaking News

    Wednesday, May 31, 2017

    बजेट प्रतिक्रिया ः शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव


    काठमाडौँ, १६ जेठ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ ।

    पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए ।

    पर्यटन प्रवद्र्धनका कामलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रको साझेदारितालाई अझ प्रभावकारी तुल्याइनुपर्ने उनीहरुको सुझाव छ ।

    बजेटप्रति अन्य निजी क्षेत्रको फरक धारणा आइरहँदा मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रलाई प्रत्यक्ष रुपमा लाभ हुने गरी लागू गर्न खोजिएका व्यवस्था कार्यान्वयनमा आए पर्यटन प्रवद्र्धन हुनेमा व्यवसायी विश्वस्त छन् ।
    राष्ट्रिय गौरवका ठूला पूर्वाधारयुक्त आयोजना र स्थानीय विकासलाई प्राथमिकता दिएर आएको बजेट पर्यटन क्षेत्रका लागि सकारात्मक रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बताउनुभयो ।

    “ठूला विकासे आयोजना र स्थानीय पूर्वाधार विकासलाई जोड दिएको बजेटले पर्यटन क्षेत्रलाई अप्रत्यक्ष रुपमा लाभ पुग्ने भएकाले समग्रमा बजेट सकारात्मक छ, यसको प्रभावकारी कार्यान्वयन भएको खण्डमा पर्यटन उद्योगले फड्को मार्नेछ,”–उहाँले भन्नुभयो ।

    मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको क्षमता र गुणस्तरीयतामा वृद्धि गरी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन जरुरी भएको उहाँले औँल्याउनुभयो ।

    सरकारले बजेटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गर्ने र त्यसका लागि कोटेश्वर–सूर्य विनायक सडक मार्गलाई सुरुङमा परिणत गर्ने घोषणा गरेको छ । विमानस्थलको धावनमार्ग विस्तार र ट्याक्सी–वे थप गरी एयर ट्राफिक समस्या न्यून गर्ने सरकारको योजना छ ।
    त्यस्तै, तीन स्थानमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारले झन्डै रु १४ अर्ब बजेट विनियोजन गरेको छ । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणाधीन गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि रु १३ अर्ब ७२ करोड बजेट छुट्याइएको छ ।

    बजेटमा उल्लेख भएअनुसार निगजढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी आवमा बोलपत्र आह्वान गरिनेछ । गौतमबुद्ध विमानस्थल विसं २०७५ चैतभित्र निर्माण सक्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी आवदेखि निर्माण सुरु गर्ने र चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

    ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले ठूला परियोजनालाई लक्ष्य गरेर आएको बजेटले अप्रत्यक्ष रुपले पर्यटन उद्योगलाई फाइदा पुग्ने प्रतिक्रिया दिनुभयो ।

    उहाँले नयाँ पर्यटकीय पदमार्ग पहिचान र प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

    सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिइनुपर्ने व्यवसायीको सुझाव छ ।


    होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले अहिलेको आवश्यकता पर्यटन प्रवद्र्धन भन्दा पनि पूर्वाधार निर्माण रहेको र बजेट त्यसमै केन्द्रित हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन विमानस्थल विस्तारलाई प्राथमिकता दिइनुपर्ने उहाँको धारणा छ ।
    “होटलको सङ्ख्या बढेको बढ्यै छ, तर पर्यटकीय पूर्वाधार कमजोर छ, त्यसैले विमानस्थल निर्माणमा तीव्रता र नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा निजी क्षेत्र र सरकारले प्रभावकारी कार्यक्रम लैजान जरुरी छ” – उहाँले भन्नुभयो ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादनमा होटल तथा रेस्टुराँको योगदान १.९८ प्रतिशत रहने अनुमान गरिएको छ ।

    सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका थिए । भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक मात्रै नेपाल आए । सबैभन्दा बढी सन् २०१२ मा आठ लाख पर्यटक नेपाल घुम्न आएका थिए । रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel