• Breaking News

    Wednesday, March 1, 2017

    "नेपाल भनेर त उल्लेख गरेको छैन तर कपिलबस्तु भनिएको छ ।" चिनियाँहरूलाई लुम्बिनी कहाँ पर्छ र कपिलबस्तु कहाँ पर्छ भन्ने कुरा पनि थाहा छैन -कन्फयुज्ड चिनियाँ

    माघ २९, २०७३- चीन भ्रमणमा आएका पत्रकारहरू हरिबहादुर थापा, गोकर्ण अर्याल, विजय पौडेललगायतका साथीहरूलाई गत वर्ष सन् २०१६ मे १८ तारिख बेइजिङस्थित लामा मन्दिरमा भेट्ने अवसर मिल्यो । बेइजिङको केन्द्र भागमा रहेको लामा मन्दिर विश्व सम्पदामा सूचीकृत एउटा सांस्कृतिक स्थल हो । तिब्बती शैलीको भव्य लामा मन्दिर छिङ वंशको शासनकालमा सन् १६९४ देखि निर्माण सुरु भएको थियो । चीनका तिब्बती बौद्धधर्मावलम्बी र मंगोलियन बौद्धधर्मावलम्बीहरूका लामाहरूको प्रशासनिक केन्द्र पनि हो यो मन्दिर ।

    चीनमा सन् १९४९ मा कम्युनिस्ट सत्ता आएपछि यो मन्दिर बन्द गरिएको थियो । ३२ वर्षपछि सन् १९८१ मा यसलाई खुलाइयो । अहिले यो बेइजिङको उत्कृष्ट पर्यटकीय स्थलमध्ये एक भएको छ । लामा मन्दिरको उत्तरी कुनामा मैत्रेय बुद्धको विशाल काठको मूर्ति छ । जमिनमुनि ८ मिटर र जमिनमाथि १८ मिटरको यो मैत्रेय बुद्धको मूर्तिलाई दस हजार खुसीको प्रतीक मानिन्छ भने मूर्ति रहेको हललाई सीमारहित खुसीको हल भनिन्छ । यो सेतो श्रीखण्डको एउटै काठबाट बनाइएको संसारकै सबैभन्दा ठूलो काठको मूर्ति भएकाले सन् १९९३ मा गिनिज बुकमा नाम लेखिएको छ ।
    यति विशाल र महत्त्वपूर्ण सम्पदा नेपालबाट ल्याइएको हो भन्ने कुराचाहिँ कतै पनि उल्लेख छैन । हामी मन्दिरभित्र घुमिरहेको बेला एक जना स्थानीय पर्यटक गाइड त्यसको व्याख्या गरिरहेकी थिइन् । उनले उक्त मूर्ति तिब्बतमा बनेको र सातौँ दलाई लामाले छिङलोङ बादशाहलाई उपहार दिएको उल्लेख गरिन् । तिब्बतबाट बेइजिङ पु‍र्‍याउन सन् १७४८ देखि ५० सम्म तीन वर्ष लागेको पनि भनिन् । मैले ती पर्यटक गाइडलाई ‘यो त नेपालमा बनाएर ल्याइएको हो । यसका बारेमा राम्ररी खोजेर सबै पर्यटकलाई बताइदेऊ’ भनेर आग्रह गरेँ । उनी केहीबेर अकमिइन् र त्यहाँको सूचना पार्टी पढ्न थालिन् । उनले तुरुन्तै मोबाइल झिकेर चिनियाँ सर्च इन्जिन पाइतुमा पनि खोजिन् । अनि भनिन्, ‘नेपाल भनेर त उल्लेख गरेको छैन तर कपिलबस्तु भनिएको छ ।’

    चिनियाँहरूलाई लुम्बिनी कहाँ पर्छ र कपिलबस्तु कहाँ पर्छ भन्ने कुरा पनि थाहा छैन । अधिकांश चिनियाँहरू वर्षौँ पहिलेको उही सामग्री रटिरहेका छन् जहाँ बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ । उक्त मैत्रेय बुद्धको काठको मूर्ति नेपालको कपिलबस्तुमा बनाएर तिब्बती सातौँ दलाई लामालाई दिइएको थियो । पछि सातौँ दलाई लामाले बेइजिङका सम्राट् छिङलोङलाई उपहार दिएका हुन् । यो नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा एउटा युगान्तकारी कोसेढुंगा पनि हो । तर चिनियाँ सूचनामा कतै पनि नेपालको नाम उल्लेख नहुँदा नेपालको योगदानलाई मेटिँदै छ ।
    बुद्धको मूर्तिको के कुरा ! बुद्ध नै भारतमा जन्मिएका हुन् भनेर चिनियाँ सूचना स्रोतमा उल्लेख गरेको पाइन्छ । विद्यालयका पाठयक्रममा केही समयअगाडिसम्म बुद्ध भारतमा जन्मिएका भनेर लेखिएको नेपालबारेमा राम्रो जानकारी भएका चिनियाँहरूले बताउने गर्छन् । बेइजिङस्थित पाकिस्तानी विद्यालयमा कक्षा आठमा पढिरहेका दाङका प्रनुप अधिकारी शिक्षकहरूसँग बुद्ध नेपालमा जन्मिएका हुन् भनेर धेरैपटक विवाद गर्नुपरेको बताउँछन् । क्वाङचौमा एमबीबीएस पढ्न आएका विद्यार्थीलाई एक वर्ष चिनियाँ भाषा पठाउने क्रममा चिनियाँ शिक्षकले बुद्ध भारतमा जन्मिएका हुन् भनेपछि नेपाली विद्यार्थीले कक्षामै इन्टरनेट खोलेर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्यगत प्रमाण देखाउँदा शिक्षिका छक्क परेको नवीन महर्जनले बताए ।
    बेइजिङको पश्चिमपट्टि वल्लो सान्सी प्रान्तमा प्रख्यात उथाइसान पर्यटकीय स्थल छ । त्यहाँ शाक्यमुनि बुद्धका छोरा राहुलको पनि मन्दिर छ । उक्त मन्दिरमा पर्यटकलाई गाइड गर्ने व्यक्तिले बुद्ध भारतमा जन्मिएका हुन् भनेर व्याख्या गरिरहेको सुनेपछि आफूले प्रतिवाद गरेको प्राध्यापक चौ च्याउचुन बताउँछिन् । उनी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको प्रमुख भएर सेवानिवृत्त भएकी र दर्जनौं पटक नेपाल गएकी हुनाले ती पर्यटन गाइडको त्रुटि औंल्याइदिइन् । तर त्यति बेला उल्टै पर्यटक गाइडले आफूलाई हप्काएको उनी सुनाउँछिन् । ‘मैले जे पढेर आएकी हुँ त्यही भन्छु । मलाई त्यही भन्नका लागि लाइसेन्स दिइएको छ । तिमीले भन्दैमा म कसरी पत्याऊँ ?’ ती गाइडले आफूलाई यस्तो बताए पछि ‘त्यो पुरानो कुरा हो अब सच्याउनुपर्छ’ भन्दा पनि आफ्नो केही नलागेको दुखेसो उनले पोखिन् ।
    बुद्धको जन्मस्थलबारेमा धेरै चिनियाँहरू ‘कन्फयुज’ मा छन् । जो नेपाल गएका छन् अथवा नेपालबारे चासो राख्छन्, उनीहरूलाई मात्र बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छ । नेपालले प्रभावकारी रूपमा कूटनीतिक माध्यमबाट यस्तो त्रुटि सच्याउन चीनलाई दबाब दिन आवश्यक छ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आफूले चिनियाँ अधिकारीहरूसँग यसबारे कुरा गरेको तर उनीहरूले कुनै औपचारिक चिनियाँ सामग्रीमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर नलेखेको बताएको जानकारी दिए । कुनै चिनियाँ पाठयपुस्तकलगायतका सामग्रीमा त्यस्तो त्रुटिपूर्ण सामग्री नभएको भए यति धेरै चिनियाँमा किन दुविधा भयो भन्ने कुरामा चिनियाँहरू चलाखीपूर्ण तर्क गर्छन् । उनीहरू भन्छन्, ‘बुद्ध नेपालमा जन्मिए पनि बुद्धत्व भारतबाट आएकाले त्यस्तो भएको हो ।’ तर, दुविधा बुद्धको जन्मस्थलको हो । अधिकांश चिनियाँ बौद्धमार्गीहरू बुद्धको जन्मस्थल हेर्न चाहन्छन् तर भारतमा भएकाले त्यहाँ जानलाई असुरक्षित महसुस गर्छन् । उनीहरू बुद्धत्वको जन्मस्थल होइन बुद्धको जन्मस्थल हेर्न चाहन्छन् ।
    त्यसो त बेइजिङमा म नेपाली हुँ भन्दा सबै सर्वसाधारणले थाहा पाउँदैनन् । चोमोलोङमाको देश भन्दा पनि उनीहरू स्पष्ट हुँदैनन् किनभने चिनियाँहरूले सगरमाथा आफ्नै देशमा पर्छ भन्ने मान्यता राख्छन् । चिनियाँ पाठयसामग्रीमा संसारको सर्वोच्च शिखर सगरमाथा अर्थात् चोमोलोङमा चीनमा पर्छ भन्ने उल्लेख छ । सगरमाथा चीन र नेपालको बीचमा भए पनि यसको चुचुरो नेपालमा पर्छ भन्ने कुरा पाँच दशकअगाडि नै दुई देशबीचमा सहमति भएको कुरा हो । विश्वको दोस्रो अग्लो शिखर माउन्ट के टु पनि चीनमै पर्छ भन्ने चिनियाँ पाठयसामग्रीमा लेखिएको छ । माउन्ट के टुलाई चिनियाँ भाषामा छयाउ क ली भनिन्छ । यो चीन र पाकिस्तानको सीमामा पर्ने भए पनि यसको चुचुरोचाहिँ पाकिस्तानमा पर्छ ।
    यस्ता महत्त्वपूर्ण विषयमा दुविधा हुँदा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा छाया परेको छ । बुद्धको जन्मथलोमै भ्रम पाल्ने चिनियाँले लामा मन्दिरमा भएको संसारकै सबैभन्दा ठूलो काठको मैत्रेय बुद्धको मूर्ति नेपालमा बनाएर ल्याएको हो भन्ने हेक्का राख्ने कुरै भएन । बुद्धका बारेमा चिनियाँमा भएको भ्रमले नेपालमा बर्सेनि जति चिनियाँ पर्यटक जान सक्थे त्योभन्दा ज्यादै कम मात्र गएका छन् ।

    श्रोत: कान्तिपुर

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel